गैडाकोट (एन S सुबेदी)। नवलपुरको गैँडाकोट निवासी कलाकार मुक्ति अधिकारी दुई दशकभन्दा लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।
चितवनको नारायणी कला मन्दिर, नारायणगढबाट नृत्य र अभिनयको औपचारिक प्रशिक्षण लिनुभएका अधिकारीले नयाँ गित ‘डिम्पल गालैमा’को म्युजिक भिडियो मार्फत दर्शकमाझ आउनु भएको छ । गीतमा चर्चित कलाकार बिना राहुतले उहाँसँग अभिनय गर्नुभएको छ । म्युजिक भिडियोको छायांकन काठमाडौंको गोदावरी क्षेत्रमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ।
‘डिम्पल गालैमा’ बोलको गीत कला हब युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
म्युजिक भिडियोमा सौगात जङ थापा र सिम्रन परियारको स्वर रहेको छ भने निर्देशन जेरी भण्डारीले गर्नुभएको छ । अभिनयमा मुक्ति अधिकारी र बिना राहुतको मुख्य भूमिका रहेको छ। निर्माण टिमका अनुसार गीत तथा भिडियोले मनोरञ्जनसँगै उत्कृष्ट दृश्य र प्रस्तुति मार्फत दर्शकको मन जितेको छ ।
निरन्तर आफ्नो कला प्रस्तुत गर्दै कलाकार अधिकारीले दर्शक तथा स्रोता माझ सक्षम कलाकारका रूपमा परिचय बनाउन सफल हुनुभएको छ। दुई दशकको कलायात्रामा उहाँले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । साथै नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गरेर चलचित्र क्षेत्रमा समेत प्रबेश गर्नु भएकोे थियो ।





