साउन १२ काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा चिकित्सकमाथि बढ्दो हिंसा र असुरक्षाको विरोधस्वरूप साउन १२ गते (मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने उल्लेख गरिएको छ ।
संघले आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई साथ र समर्थन गर्न आग्रह गरेको छ । आन्दोलनका थप कार्यक्रम क्रमशः सार्वजनिक गरिने संघले जनाएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । साथै, घटनास्थलमा उपस्थित सुरक्षा निकाय तथा जिम्मेवार निकायले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै त्यसको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न पनि आग्रह गरिएको छ ।






