काठमाडौँ, जेठ २१ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाख रुपियाँभन्दा बढी रकम फिर्ता भएको जानकारी गराउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री पोखरेलले शिक्षा मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको जानकारी दिनुभएको छ । यससँगै थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ।
मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गर्नुभएको छ। उहाँले सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त अवसरको उपयोगपछि सेवामा नफर्किने प्रवृत्तिका कारण विश्वविद्यालयले आर्थिक, शैक्षिक तथा नैतिक क्षति बेहोर्दै आएको भन्दै विश्वविद्यालयको साख गिराउने किसिमका यस्ता क्रियाकलाप आगामी दिनमा दोहोरिन नहुनेमा जोड दिनुभएको छ ।
मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्न त्रिविलाई प्रोत्साहित गरेको र त्यसपश्चात् गरिएको छानबिन तथा कानुनी प्रक्रियाका आधारमा रकम फिर्ता हुने क्रम तीव्र बनेको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ ।





