जेठ २१,ललितपुर। सभामुख डिपी अर्यालले जातीय विभेद तथा छुवाछूतको अन्त्य राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनुभयाे ।
सभामुख अर्यालले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरी नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक बन्न नसक्ने बताउनुभयो । उहाँले दलित समुदायले भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् पूर्णरूपमा सचेत रहेको तथा समाधानका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
सभामुख अर्यालले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै दलित समुदाय आर्थिक रूपमा सशक्त नभएसम्म सामाजिक चेतनामात्रले पूर्ण परिवर्तन ल्याउन कठिन हुने बताउनुभयो । सभामुख अर्यालले संविधानको धारा ४० को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई थप सुदृढ बनाउन सङ्घीय संसद निरन्तर सक्रिय रहने बताउनुभयो ।





