spot_img

Tuesday, June 2, 2026

मन्त्रीपरिषद् बैठकका चार निर्णय

काठमाडौँ । सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।  मङ्गलबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रीपरिषद्को सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको उक्त महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको हो ।

सँगै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नयाँ पदाधिकारी नियुक्ति गरेको छ । निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ ।  समिति सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठलाई नियुक्त हुनुभएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :