गैडाकोट । पारिजात आमा समूह गैडाकोटकोे दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले तारा शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमा घर्ती मगर, सचिवमा सरस्वती अधिकारी, कोषाध्यक्षमा सीता कडेल, सह–सचिवमा कविता कंडेल र सह–कोषाध्यक्षमा सविता सुवेदी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा पार्वती ठकुरी, उषा पाण्डे, विष्णु गहतराज, विमला दाहाल, सन्जु ढकाल र तुलसी पौडेल रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी कार्यपालिका सदस्य शान्ति न्यौपानेले आमा समूहहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । न्यौपानेले महिलाको सशक्तिकरण, सामाजिक एकता तथा विकास निर्माणका कार्यमा आमा समूहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । न्यौपानेले पारीजात आमा समूहको आगामी यात्रा अझ सशक्त, प्रभावकारी र सफल रहोस् भन्ने कामना गर्नुभयो ।
नव–निर्वाचित अध्यक्ष तारा शर्माले समूहप्रति देखाइएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा आमा समूहलाई थप सक्रिय, अनुशासित र समाजसेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनु भयो । शर्माले महिलाको क्षमता विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
यस अघि भएको साधारण सभामा प्रगति प्रतिबेदन सचिव तारा शर्माले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष तुलसी कडेलले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तब्य समूहको उपाध्यक्ष जुना भट्टराईले राख्नु भएको साधारणसमा समूहकी अध्यक्ष मनु ढुंगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो।
कार्यक्रमको अवसरमा पारिजात टोल विकास संस्थाभित्र रहेका करिब २० जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।





