कात्तिक २७,काठमाडौँ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् ।
आयोगमा हालसम्म राजनीतिक दल दर्ताको सङ्ख्या एक सय २५ पुगेको छ । पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।
नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र दुईरदुई प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्छ ।





