spot_img

Friday, November 14, 2025

बागमती प्रदेश मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ द्धारा पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा मङ्गलबार दिउँसो आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले शपथसँगै एक जना बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ मन्त्रालय रहेको छ ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेसको दुई र नेकपा (एमाले) बाट ६ जना मन्त्री नियुक्ति गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिशमा मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन गर्नुभएको हो ।

नवगठित मन्त्रीपरिषद्मा कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्नुभएको छ । अधिकारीको मन्त्रालयपछि तोकिनेभएको छ । तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसबाट मन्त्री बन्नुभएका दुवै नयाँ हुनुहुन्छ । कांग्रेसको भागमा परेका अन्य मन्त्रालय मुख्यमन्त्री आफैले राख्नुभएको छ ।

यस्तै, एमालेबाट सरकारमा जानेमा एक जना बाहेक सबै नयाँ अनुहार हुनुहुन्छ । बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका किरण थापा नयाँ सरकारमा दोहरिनुभएको छ । थापाले पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सोहीअनुसार मधुसूदन पौडेलले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

कांग्रेसका दुई र एमालेका ६ जना मन्त्रीले शपथ लिनुभयो । नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुख देवकोटाले शपथ ग्रहण गराउनुभयो । कांग्रेसले मुख्यमन्त्री कार्यालयसहित आठ र एमालेले ६ मन्त्रालय पाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :