single head

सबै प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने / पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा

single post top 1

काठमाडौँ । लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ।

single p1

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ ।

single p2

महाशाखाकी मौसमविद् विनु महर्जनले भन्नुभयो, “यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्ने गरी नै वर्षा भएको छ, तर पूर्वी तराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।”

आज मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ । देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उहाँले काठमाडौँमा पनि आज खण्डित वर्षा भएको बताउनुभयो । चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै, खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।

मौसमविद् महर्जनले आज दिउँसो विभिन्न प्रदेशका केही क्षेत्रमा भारी नै पानी परेको र अहिले पनि कोशी र मधेस प्रदेशमा वर्षा जारी नै रहेको छ । उहाँका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर पानी परेको छ ।

यस्तै, दमकमा १२१ र चन्द्रगढीमा १२७ मिलिमिटर वर्षा भएको छ । उदयपुरको गाईघाटमा १३४.३ मिलिमिटर वर्षा भएको छभने बाँकेमा पनि १०७ मिलिमिटर वर्षा भएको छ । १६ भन्दा बढी स्टेशनमा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

मधेस प्रदेशमा पनि यसपालि राम्रो वर्षा भएको छ । मधेसमा सप्तरीको बरमजियामा ९३.६ मिलिमिटर वर्षा भएको छ । यस्तै, सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरी गौशालामा ५७.८, लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ । रौतहट गौर ६५.८ मिलिमिटर, बारामा ४३ मिलिमिटर वर्षा भएको छ । पर्सा र सर्लाहीमा भने मध्याम वर्षा भएको छ । देशका धेरै मापन केन्द्रहरुमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

योसँगै बाग्लुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, सङ्खुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही मापन केन्द्र आसपास पनि भारी वर्षा भएको विभागले जानकारी दिएको छ । हल्कादेखि मध्यम वर्षा भने देशका अधिकांश क्षेत्रमा भएको छ ।

विभागले आगामी २४ घण्टामा देशभर बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरेको छ । आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन सक्रिय रहने जनाइएको छ । विभागले यो समयमा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै काम गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ । रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3