गैंडाकोट । गैंडाकोटका सामुदायिक वनहरूले कार्ययोजना निर्माणका सम्बन्धमा अन्तरक्रिया गरेका छन। गैंडाकोट वडा नम्बर ९ मा रहेको वातावरण बाल उद्यान पार्कको सभाहलमा बुधबार गैडाकोटका सामुदायिक वनहरूको छाता संगठन स्थानीय महासंघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।
अन्तरक्रिया कार्यक्रममा सबडिभिजन वन कार्यालयका पूर्व कार्यालय प्रमुख ज्योति कोइरालाले अहिले मौलाकाली, नन्दन, नारायणी र जय श्री वनको कार्ययोजनाहरू नवीकरण गर्ने चरणमा रहेको बताउनुभयो। पूर्व कार्यालय प्रमुख कोइरालाले प्रदेश वन ऐन अन्तर्गत नयाँ ऐन, नयाँ नियमावली, नयाँ कार्यविधि आएको सन्दर्भमा छलफल गर्ने, कसरि कार्यान्वयन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको बताउनु भयो । कोइरालाले छनौट प्रणालीमा आधारित भनेको के हो , के कसरी काम गर्नुपर्ने हो र राम्रा पक्ष के हुन, सामुदायिक वनको निरन्तरता दिगो विकासका लागि कत्तिको सान्दर्भिक छ भन्ने विषयमा पनि छलफल गरेको बताउनुभयो।
सामुदायिक वन महासंघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष खगराज सापकोटाले हाम्रो नगरभित्र रहेका सामुदायिक वनको हैसियत कस्तो हुने ,यहाँबाट निस्कने वन पैदावारबाट उपभोक्ताले कति लाभ लिने भन्ने विषयमा छलफल गरेको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष सापकोटाले अब बन्न लागेको कार्य योजनामा रहेर छलफल गरेपछि निष्कर्षमा सबैको चिन्ताको विषय अब प्रदेश सरकार वन ऐन नीतिको आधारमा रहेर हामीले काम गर्ने अवस्था रहेको बताउनुभयो ।
सामुदायिक वन महासंघ केन्द्रीय सदस्य कमल प्रसाद पराजुलीले हामीले वनको ढला पडालाई के गर्ने भन्ने विषयमा छलफल गरेको बताउनुभयो । केन्द्रीय सदस्य पराजुलीले गैंडाकोटका चारवटा वनको करिब करिब छनौट प्रणाली अन्तर्गत नै जाने निष्कर्षमा पुगेको पनि बताउनुभयो ।
स्थानीय महासंघको अध्यक्ष निर्मला कंडेलले गण्डकी प्रदेशको नयाँ वन ऐन अनुसार कसरी जान सकिन्छ भनेर जयश्री, नन्दन, नारायणी र मौलाकाली वनले गरेको अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनुभयो। अध्यक्ष कँडेलले भननुभयो ।“जुन आजको एजेन्डा भनेको कार्ययोजना निर्माण गर्दै जाँदा हामीले उपभोक्तालाई कसरी सहज हुन्छ, कसरी दिगो बनाउन सकिन्छ भन्ने मुख्य एजेण्डामा कार्ययोजना बनाउँदा एकरूपतामा जान सकिने भनेर चारवटा वनले गरेको निर्णयमा स्थानीय महासंघलाई जुन सुझाव दिएको थियो त्यसको लागि धन्यवाद दिन चाहन्छु।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका संस्थापक नगरप्रमुख तथा पूर्व महासंघ केन्द्रीय सदस्य छत्रराज पौडेलले अहिले आएको गण्डकी प्रदेश ऐनको विषयमा गैंडाकोटमा रहेका सामुदायिक वनहरूले गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रम समय सान्दभिक भएको बताउनुभयो । पौडेलले भन्नुभयो। “ यस्तो किसिमको छलफलबाट गैडाकोटमा रहेका सबै सामुदायिक वनहरू एकरुपताले कसरी वनलाई दिगो बनाउन सकिन्छ ,उपभोक्तालाई कसरी सहज हुन्छ भन्ने विषयमा छलफल भएको हो।” पौडेलले अहिले आएको गण्डकी प्रदेश सरकारको नयाँ नियमबाट अहिले कार्ययोजना नवीकरणमा रहेका वनहरूले नवीकरण गर्दा कति समय लाग्छ कत्तिको सहज, गाह्रो छ भन्ने विषयमा पनि जानकारि गराईएको बताउनु भयो ।
कार्यक्रममा मौलाकाली सामुदायिक वनको तर्फबाट अध्यक्ष हरि सापकोटा, जय श्री सामुदायिक वनको तर्फबाट अध्यक्ष भीमबहादुर कुमाल, नन्दन सामुदायिक वनको तर्फबाट अध्यक्ष हरिमाया अधिकारी र नारायणी वनको तर्फबाट अध्यक्ष नेत्रराज सापकोटाले सुझाव सहित आफ्नो भनाई राख्नुभएको थियो।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा गैंडाकोट नगरपालिकाका सामुदायिक वनहरूका अध्यक्ष, कार्यालय सचिव कार्यसमिति ,लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। गैँडाकोट नगरपालिका भित्र अहिले २३ वटा सामुदायिक वन रहेका छन। अन्तरक्रिया कार्यक्रममा नारायणी सामुदायिक बनकि सचिब सीता गिरिले सहजीकरण गर्नु भएको थियो ।






