गैडाकोट । नपलपरासी पूर्व गैडाकोट वडा नम्बर ६ मा कानुनी सचेतना तथा समूह व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम सुरु भएको छ ।
गैडाकोट नगरपालिका वडा नम्बर ६ र स्वावलम्बन महिला समुहको आयोजनामा शुक्रवार नमुना शिवनगर खानेपानिको सभाहलमा कानुन के हो,कानुन नबुझदा कस्तो कठिनाइ हुन्छ र न्यायीक अधिकारका सवालमा सबल र सक्षम बनाउने उदेश्यले कानुनी सचेतना तालिम शुरु गरेको हो। वडा भित्र रहेका १९ वटा महिला समुह बाट ७० जना महिलाहरुको उपस्थिती रहेको थियो ।
गैडाकोट नगरपालिका नगर उप प्रमुख शान्ती कोईरालाले जबसम्म महिला दिदीबहिनीहरूको चेतना वृद्धि हुँदैन, आफ्ना हक र अधिकारको बारेमा जानकारी हुँदैन तब अगाडि बढ्न नसकिने बताउनु भयो । उप प्रमुख कोईरालाले छुवाछुत, जातीय विभेद, सामाजिक कुरीतिको बारेमा हामी आफु सक्षम नभई समाज रूपान्तरण नहुने बताउनु भयो । कानुनमा के लेखिएको छ, कानुनले बन्देज गरेका कतिपय विषयवस्तुहरू हामीले नजान्दा विवादमा पर्ने गरेका छौं यी सबै कुराहरु सबैले जान्न जरुरी रहेको उहाँले बताउनु भयो। “तालिममा पुरै समय बसेर कानुन सम्बन्धी सबै कुराहरु बुझेर, सिकेर जानुहोला, आगामी दिनमा हरेक ठाउँमा महिलाको नेतृत्वमा आफूलाई प्रस्तुत गर्नुहोला” कोईरालाले भन्नुभयो।
गैडाकोट वडा नम्बर ६ का वडाध्यक्ष सुवास चापागाईले समूह भित्र रहेका सदस्यहरूलाई तालिम दिनको लागि यो कार्यक्रमलाई वडा नम्बर ६ मा ल्याउनुपर्छ भनेर स्वावलम्बन महिला समुहले पहल गरेको बताउनु भयो । नगरपालिकाबाट समूहलाई भन्दा पनि वडाभित्रका प्रत्येक समूहलाई यो तालिम दिन आवश्यक छ भनेर वडाको समन्वयमा तालिमको आयोजना गरेको वडाध्यक्ष चापागाईले भन्नुभयो । वडाध्यक्ष चापागाईले भन्नुभयो “वडामा रहेका १९ वटा समुहको आफ्नै महत्व रहेको छ। त्यसमध्ये स्वावलम्बन महिला समूहले आफ्नो समुहभित्र रहेका महिलाहरूको लागि पाठेघर सम्बन्धी तालिम राख्नुभयो र अहिले कानुन सचेतना तथा समूह व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गर्नुभएको छ। अरुसम्म भन्दा हामी पृथक छौँ भनेर देखाउन खोज्नुभएको समूहलाई धन्यवाद दिन चाहन्छु। अब कानुनी सचेतना तालिम लिएपछि वडा कार्यालय ,नगरपालिका जाँदै गर्दा, नागरिकता लानुपर्ने कुराहरु, त्यस्तै १६ वर्ष कटिसकेपछि नेपालको संविधानको बारेमा जान्नु पर्ने,लगायतका कानुन सम्बन्धि ज्ञान हुन जरुरि रहेको बताउनुभयो ।
वडा सदस्य पवित्रा अधिकारी र कल्पना परियारले वडाले राम्रो कार्यक्रम ल्याएकोले कानुनकोे नीति नियमको बारेमा बुझेर अरुलाई पनि बुझाउन आग्रह गर्नुभयो ।
वडा महिला समिति संयोजक इन्दिरा खनालले विभिन्न समूहबाट उपस्थित हुनुभएका दिदीबहिनीहरुले कार्यक्रमबाट महिलाको अधिकार तथा कानुनको बारेमा धेरै कुराहरू सिकेर सक्षम हुन आग्रह गर्नुभयो ।
स्वावलम्बन महिला समुहका सल्लाहकार तथा समाजसेवी दिनुराम सापकोटाले अन्य वडामा भन्दा हाम्रो वडामा तालिम कम पर्नुको कारण के हो र वडाले कार्यक्रम बनाउँदा खेरि तालिम नपाएको हो कि नगरपालिकाले प्राथमिकतामा नराखेको हो भन्दै स्थानिय निकायलाई प्रश्न गर्नुभयो । सापकोटाले अहिले यो कानुनी सचेतना सम्बन्धी तालिम वडाले उपलब्ध गराएकोमा वडालाई धन्यवाद दिनुभयो ।
स्वावलम्बन टोल विकास संस्थाका अध्यक्ष तेजेन्द्र चालिसेले यो असारमा मानो रोपेर मुरी फलाउनको लागि किसानहरू खेतमा खटिरहेका छन् त्यसैले यो समयमा तालिम राखेर सबै महिला दिदीबहिनीहरुलाई समेट्न नसकिने बताउनुभयो। चालिसेले वडाले तालिम दिँदै गर्दा समयको महत्व बुझेर तालिम दिन आग्रह गर्नुभयो।
तालिमको मुख्य प्रशिक्षक चितवन जिल्ला अदालत बार एशोसिएसनको पहिलो अध्यक्ष फुलमाया रानाभाटले तालिममा व्यक्तिको परिवार तथा समुदायमा देखापरेको कानुनी अड्चन तथा भोगेका समस्याहरूसँग सम्बन्धित मुद्दाहरूको बारेमा जानकारि दिनु भएको थियो । तेस्तै अंशबण्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको आरोपमा गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारको सम्बन्ध, जग्गा खिचोला, गाली बेइज्जती, विषयहरूलाई समेटिएर अधिवक्ता रानाभाटले सहजीकरण गर्नुभएको थियो ।
स्वावलम्बन महिला समुहको अध्यक्ष कल्पना शर्माले समुहका सदस्यले कानुन सम्बन्धि ज्ञानको लागि कानुनी सचेतना सम्बन्धी तालिम लिनुपर्छ भन्ने महसुस गरेर तालिमको आयोजना गरिएको बताउनु भयो ।
स्वाबलम्वन महिला समुहको उपाध्यक्ष शान्ती शर्माले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष नर्बदा पाण्डेले गर्नु भएको थियो । गैडाकोट नगरपालिकाको आर्थीक सहयोगमा कानुनी सचेतना तथा समूह व्यवस्थापन सम्बन्धी तालिम भएको हो ।