एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट :नेपालले जापानलाई ९ विकेटले पराजित

Article Inline top 1

काठमाडौँ । नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मङ्गलबार भएको खेलमा  नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो।

Article Inline 2

दुई खेलमा विजयी हुँदै नेपालले चार अङ्क जोडेको छ। नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ। जापानले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो।

टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै  ८० रन बनायो। ८१  रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि शिवान्स बजगाईं र प्रसिद्व जैसीले अविजित ३८ र ३३ रन बनाउनुभयो। बलिङतर्फ जापानका लागि केइसी काबायाशीडोगेटले एक विकेट हात पार्नुभयो।

यसअघि जापानका लागि ब्याटिङ गर्ने क्रममा कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुभएको थियो। बलिङतर्फ नेपालका लागि शुभम खनालले सर्वाधिक पाँच विकेट लिनुभयो। १० ओभर बलिङ गर्नुभएका खनालले १५ रन दिँदा तीन मेडन राख्नुभयो। नेपालका लागि अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट हात पार्नुभयो।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्। नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो। नेपालले तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा चौथो खेल असार १७ गते भुटानसँग खेल्नेछ।गोपअ

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :