गैडाकोट । नवलपरासी पूर्व गैडाकोट वडा नम्बर ८ मा जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ।बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ बालमैत्री वडा अभियान अन्तर्गत गैंडाकोट नगरपालिका वार्ड नं ८ वडा बाल सञ्जालको आयोजनामा शनिबार विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा वडामा रहेका बालबालिकाहरूले जनप्रतिनिधिसँग आफ्नो गुनासो राखेका थिए।
कार्यक्रममा बोल्ने अधिकांश बालबालिकाले वडामा रहेको सडकमा फालिने फोहोरलाई व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम चलाउन , बालबालिकाहरूलाई खेलकुद सामग्रीको सही प्रयोग गर्न ,पुस्तकालयको व्यवस्था गर्न ,रातिमा बाटोघाटोमा हिँड्नलाई गाह्रो भएको हुँदा त्यसको व्यवस्थापन गर्न ,बिजुलीका पोलहरूमा लत्रेका तारहरूले दुर्घटना निम्त्याउने हुँदा त्यसलाई व्यवस्थापन गर्न ,छाडा कुकुरहरूको व्यवस्थापन गर्न, जथाभावी मोबाइलको प्रयोगले निम्त्याउने कठिनाइहरूको बारेमा जानकारी लगायतका थुप्रै समस्याहरू बताएका थिए ।

बालबालिकाहरूले राखेका समस्याहरुको उत्तर दिँदै गैडाकोट नगरपालिका वार्ड नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले बालबालिकाहरूले राखेका प्रश्नहरू जायज र समय सान्दर्भिक रहेको बताउनुभयो। हामीले मोबाइलमा राम्रो कुरा हेर्यो भने राम्रो हुन्छ नराम्रो हेरे नराम्रो हुन्छ त्यसैले बाबाआमाले भनेको मानेर मोबाइल हेर्न छाडौँ र पढ्नमा ध्यान दिन वडाध्यक्ष सापकोटाले आग्रह गर्नुभयो । हाम्रो वडाभित्रका बालबालिकाहरू कहीँ पनि गएर आफ्ना कुराहरू राख्न सक्ने निडर र क्षमतावान बनाउने हाम्रो इच्छा छ त्यसका लागि तपाईँहरूको कन्फिडेन्ट लेभल पनि बढ्न जरुरी रहेको सापकोटाले बताउनुभयो । उहाले वडामा रहेका छाडा कुकुरहरूलाई रेबिजको भ्याक्सिन लगाइसकेका छौं र घरमा पालिएका कुकुरलाई भ्याक्सिन लगाएर कम्पाउन्ड भित्रै राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का जनप्रतिनिधि खगेश्वर सापकोटा, कमला आचार्य ,तर्कबहादुर थापा ,सुशिला परियार, वडा सचिव रमेश आचार्य, टोल सन्जाल अध्यक्ष शशीधर न्यौपाने ,नगर बालसञ्जाल अध्यक्ष संसार सापकोटा, टोल विकास संस्थाका अध्यक्ष ,वडावासी र बालबालिकाहरु को उपस्थिति रहेको थियो ।







