spot_img

Monday, March 9, 2026

मौलाकाली सामुदायिक वनले गरिव तथा विपन्न सदस्यलाइ बेड सेट तथा खाद्यान्न सामाग्री वितरण गर्यो / बाद्यवादन तालिम पनि सुरु

 जेठ १७ ,गैंडाकोट । नवलपरासी पुर्व गैंडाकोटमा मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले गरिव तथा  विपन्न सदस्यका लागि  बेड सेट तथा खाद्यान्न वितरण गरेको छ ।

आज शनिबार कार्यालय परिसरमा समुहले  बाद्यवादन (पन्चेबाजा) तालिम पनि सुरु गरेको छ।  कार्यक्रममा समूहभित्र रहेका १७ जना गरिब विपन्नलाई करिब १ लाख २५ हजार रुपैयाँ बराबरको खाट, बिस्तरा सहितको सबै सेट र खाद्यान्न सामग्री वितरण गरिएको गरिब विपन्न उपसमिति संयोजक धना पौडेलले जानकारी दिनुभयो ।

 

त्यस्तै समूहले आयआर्जन तथा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बाद्यवादन (पन्चेबाजा) तालिम पनि सुरु गरेको छ। तालिममा १९ जना सदस्यहरूको सहभागिता रहने महिला सशक्तिकरण उपसमिति संयोजक इन्दिरा शर्माले बताउनुभयो।


त्यस्तै समूहको क्षेत्रभित्र रहेका विद्यालयलाई शिक्षक तलबको लागि चेक हस्तान्तरण गरिएको छ, जसमा नेपाल राष्ट्रिय शमशेर माविलाई रु १ लाख २५ हजार , दुर्गा आधारभूत विद्यालयलाई १ लाख ५ हजार र महेन्द्र स्मारक विद्यालयलाई १ लाख ५ हजार गरी करिब ३ लाख ३५ हजार प्रदान गरिएको समूहका कार्यालय सचिव अर्जुन सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा अग्नि नियन्त्रणका लागि समूहले अस्थायी रुपमा राखिएका म्यादी वन हेरालुलाई पनि सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बाद्यवादक सम्बन्धित पन्चेबाजा तालिमको आयोजना गरेर वनले एउटा राम्रो काम गरेको बताउनुभयो। अहिले पञ्चेबाजा क्षेत्री बाहुनले पनि बजाउन थालेको बताउदैँ संस्कृति जोगाउनको लागि मौलाकालिका वनले गरेको तालिम सराहनीय काम भएको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाले हाम्रो मौलिक संस्कृति अनुसार लोप हुँदै गएको एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि पनि हाम्रो सुखमा होस् चाडपर्वमा होस् मौलिक संस्कृति पञ्चबाजाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

गैंडाकोट नगरपालिका वार्ड नं १ का वडाध्यक्ष सुरेन्द्र रेग्मीले वनको कार्ययोजना अनुसारसमूहले संस्थाको नीति तथा कार्यक्रम बनाउँदा गैंडाकोट नगरपालिका १ र २ का वडाध्यक्षलाई आमन्त्रण गरी सल्लाह सुझाव अनुसार सामुदायिक विकासमा १० प्रतिशत भन्दा बढी रकम विनियोजन गर्नु राम्रो पक्ष रहेको बताउनुभयो ।

समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले पूर्व अध्यक्ष, समिति तथा सदस्यहरूले जङ्गल संरक्षणमा योगदान गरेको स्मरण गर्नुभयो । उहाँले पहिले समिति र उपभोक्ताको योगदानले नै वन संरक्षणमा टेवा पुगेको बताउनुभयो ।  वनले उपभोक्तालाई सचेतीकरण गर्ने, बिभिन्न तालिम र आत्मर्भिर बनाउने काम पनि गरिरहेको बताउँदै प्रत्येक टोलटोललाई पनि आफ्नो नीति तथा कार्यक्रम अनुसार पैसा विनियोजन गरेको जानकारी दिनुभयो । वनले आफ्नो कार्य  क्षेत्रभित्र रहेका २१ वटा टोललाई ५ लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । विभिन्न किसिमका तालिम दिइसकेको छ तसर्थ प्रतिफल भने अहिलेसम्म नआएको हुँदा अहिलेको तालिम बाट प्रतिफल आउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, सामुदायिक वनको तर्फबाट जय श्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, विद्यालय व्यवस्थापन समितिको तर्फबाट नेपाल राष्ट्रिय शमशेर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कविराज आचार्य, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर अध्यक्ष शालिकराम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा सबडिभिजन बन कार्यालय गैंडाकोटका निमित्त प्रमुख एवं सहायक स्तर छैटौं दिनेश केसी, स्थानीय वन महासंघ गैडाकोटकी कोषाध्यक्ष कमला शर्मा, नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रराज सापकोटा, नन्दन सामुदायिक वनको अध्यक्ष हरिमाया अधिकारी, जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौड्याल लगायत समाजसेवी व्यक्तित्व, बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समूहका उपाध्यक्ष भगवान घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहको सचिव इन्दिरा शर्माले गर्नुभएको थियो।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :