spot_img

Wednesday, May 14, 2025

एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध  : उद्योगमन्त्री दामोदर भण्डारी

 वैशाख ३१ काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ‘एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ अन्तर्गत लगानी प्रवर्द्धन तथा सुनिश्चितता सत्रलाई सम्बोधन गर्दै एनआरएनएको तत्परता मुलुकको समृद्धिसँग जोडिएको बताए । ‘लगानी गर्छु एनआरएनएहरुले भन्ने । लगानी गर्नुस् सरकार भन्ने । तर विभिन्न खालका जटिलताहरु बाधकका रुपमा छन् । तिनीहरुलाई निरुपण गर्नुपर्नेछ,’ उनले भने ।
मन्त्री भण्डारीले लगानीको प्रवर्द्ध सरकारको प्राथमिकता भएको बताए । ‘लगानीको क्षेत्र पहिचान भएको छ । यतिबेला त्यसलाई अझ अनुकूल वातावरण गर्न सकिन्छ । आकर्षण कसरी गर्न सकिन्छ । आन्तरिक प्रवर्द्धन गर्न सकिन्छ । अनुकूलता र प्रतिकूलता छन् । त्यसमा समाधान निकाल्नुपर्नेछ,’ उनले भने, ‘त्यसकारण सम्भावना हामीसँग छ । तर त्यसलाई कार्यान्वयन गर्न जटिल छ । सरकारले अहिले केही लगानीका वातावरण बनाउन खोजेको छ । तर प्रक्रियामा झेलिएको छ ।’
एनआरएनको सहजताका लागि संसदले कानुन चाँडै बनाउने उनले विश्वास दिलाए । ‘कानुनी अधिकार पाइसकेपछि सहज हुनेछ । यद्यपि आज पनि लगानीमा जे जे अवरोध छन् । आइपिओ जारी गर्ने कुरा छ,’ उनले भने, ‘एनआरएनएको फण्ड कार्यान्वयनको लागि आइपिओ जारी गर्न नियामक निकायसँग छलफल गरिररहेको छ । प्रतिनिधिसभामा नयाँ कानुनहरु जारी गरिसकेका छौं ।’   मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा लगानीका लागि आह्वान गरे । ‘तपाईहरु उद्योग दर्ता गर्नुस् । बिजुली पानी वत्ती सबै दिन्छौ । १० वर्षको सुरक्षा हुन्छ । हामी आमन्त्रण गर्छौ । सरकारले सहजीकरण गर्छ । सार्वजनिक साझेदारी मोडलबाट औद्योगिक क्षेत्रको विस्तार गर्न चाहेका छौं,’ उनले भने ।
नेपाली उत्पादनहरु विश्व बजारमा प्रवर्द्धन गर्न चाहेको भन्दै मन्त्री भण्डारीले त्यसमा एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘यतिखेर हामी थुप्रै लगानीका आधारहरु बनाइरहेका छौं । लगानी चाहन्छौं । उर्जा, जलस्रोत र रुग्ण उद्योग सञ्चालन प्राथमिकतमा छ । तपाईहरुको पुँजी प्रयोग गर्न चाहन्छौं,’ उनले भने । नेपालमा लगानी थुप्रै क्षेत्र रहेको भन्दै एनआरएनएको ज्ञान सीप प्रविधि र पुँजी प्रयोग गर्न तथा त्यसको लागि नीतिगत र संरचनागत वातावरण बनाउन सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली र उद्योग वाणिज्य संघ एकअर्काको परिपुरक भएको बताए । एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिए । आगामी अधिवेशन सफलताको शुभकामना दिए । कलेक्टिभ हिसाबले पुँजी नेपालमा ल्याएर ठूला पूर्वाधार निर्माण गर्ने, रोजगारी सिर्जना गर्न उनले अपिल गरे । ‘त्यो हिसाबमा म्यासेज गयो भने नेपाली निजी क्षेत्र र लगानीकर्तामा राम्रो सन्देश जानेछ,’ उनले भने । पूर्वाधारको क्षेत्रमा एनआरएन इन्भेष्ट कम्पनीले काम गर्नेगरी अगाडि बढाउन अपिल गरे । नेपालको विकासमा निजी क्षेत्र र एनआरएनए सँगसँगै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
लगानी बोर्डका सिइओ सुशील ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक लगानी भित्र्याउन थुप्रै कामहरु गरिरहेको बताए । विभिन्न ९ वटा कानुनहरु संशोधन गरेर वातावरण सिर्जना खोजिएको उल्लेख गर्दै त्यो दिशामा अगाडि बढिरहेको छ । नेपालको समृद्धिलाई अगाडि बढाउने आयोजना अगाडि बढाउन लगानी जरुरी रहेको र यसमा प्रवासी नेपालीहरुको साथ आवश्यक रहेको उनको भनाइ थियो । लगानी प्रदवर्द्धन गर्ने कानुनमा सुधार, संरचनागत र संस्थागत वातावरण निर्माणका लागि आफूहरु क्रियाशील रहेको भन्दै एनआरएन फण्डलाई ठूला आयोजना निर्माणमा केन्द्रित गर्न उनले सुझाए । एउटा विशिष्ट आयोजना सञ्चालन गरेर त्यसमा निरन्तर लगानी गरिरहन उनले अपिल गरे । देशको विकासका निम्ति हातेमालो गर्न र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
नेप्सेका चिफ एक्जिक्युटिभ अफिसर चुणामणी चापागाईंले नेपालमा लगानी भित्र्याउन एनआरएनएको भूमिका अपरिहार्य रहेको बताए । गैरआवासीय नेपालीलाई १० प्रतिशत शेयर कारोबार सुनिश्चित गरिएको र व्यक्तिगतरुपमा कारोबार भइरहेको उल्लेख गर्दै यसलाई थप व्यवस्थित गर्न जरुरी रहेको बताए । एनआरएन फण्डमार्फत लगानी गर्न पाउनु सुखद भन्दै नेप्सेको पूर्ण सहयोग रहने उनले बताए । ८० लाख गैरआवासी नेपालीको ज्ञान, सीप, पुँजी नेपालको समृद्धिका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले गैरआवासीय नेपालीको लगानी सुदृढ गर्न नेप्सेले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 (सेबोन) का सन्तोषनारायण श्रेष्ठले धितोपत्र बोर्ड र एनआरएन फण्ड जोडिनु स्वागतयोग्य भएको बताए । छरिएको पुँजी नेपाल भित्र्याउने र परिचालन गर्न नियमावली र नियमहरु चाँडो परिमार्जन गर्न जरुरी रहेको उनको भनाइ थियो । अर्थतन्त्र र विकासको सम्वाहकको रुपमा एनआरएनए रहेको भन्दै छरिएका नेपालीको लगानी भित्र्याउनेगरी विश्वासको वातावरण बनाउन सेबोनले भूमिका खेल्ने प्रतिबद्धता उनले जनाए ।
संघका कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले विदेशमा कारोबार गर्दा नेपालमा जस्तो जटिलता भोग्नुनपरेको र जटिलता भए पनि कमाईको केही अंश बचाएर नेपालमा लगानी गरिरहेको उल्लेख गर्दै उनले एक दिन सहज अवस्था आउने अपेक्षा गरे ।
संघका ओसिनिया रिजनल कोर्डिनेटर दिनेश पोखरेलले विकसित राष्ट्रमा भएका सन्ततिहरुलाई राज्यबाट दुख दिन बन्द गर्नुपर्ने बताए । बिना कुनै झन्झट लगानी भित्र्याउने वातावरण बनाउन उनले अपिल गरे । विदेशबाट फर्केर आउँदा राज्यको व्यवहारले निराश हुनुपरेको स्थितिमा सुधार्न र संविधानले दिएका सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारको अक्षरश पालना गर्न माग गरे । ‘हामी यस्तो देशबाट आएका छौं, कम्पनी खडा गर्न खोज्दा ठाउँ ठाउँमा हडल छ । यो सुधार गरिनुपर्छ । विदेशमा रहेका नेपालीले सहज लगानी गर्ने वातावरण बनाउनुपर्छ । यसलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘नेपालको समृद्धिमा अगाडि बढ्न हामीहरु तयार छौं । तर राज्यले विभेद गर्नुभएन ।’
एनआरएन डेभलपमेन्ट फण्डका सिइओ अनलराज भट्टराईले शेयर मार्केटमा गैरआवासीय नेपालीलाई सहभागी गराउन अनुरोध गरे । उनले भने, ‘विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको नेपाल एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनको लागि हालसम्म भएका कानून संशोधनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ यद्यपी  धितोपत्र बोर्डले ल्याएको धितोपत्र निष्काशन तथा वितरण सम्बन्धि निर्देशिकामा सरकारबाट आइपीओको प्रतिशतमा ४९ प्रतिशत स्वीकृत भएकोमा हामीले ८५ प्रतिशतको माग गरिरहेका छौँ । यसर्थ उक्त माग यथाशक्य छिटो सम्बोधन गर्न अनुरोध गर्दछौँ । ‘
संघका अध्यक्ष बद्री केसीले लगानी र एनआरएनए एकअर्काको परिपुरक रहेको भन्दै जबसम्म संविधानले दिएका गैरआवासीय नेपालीका हकअधिकार पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म जटिलता रहने बताए । ‘जग्गा खरिद गर्न, सम्पत्ति हस्तान्तरण गर्न, कम्पनी खोल्न पाइरहेका छैनौं । अनि के को लगानीको कुरा गरिरहेका छौं ?’ उनले भने, ‘त्यसैले पहिला सहज वातावरण बनाइयोस् । हाम्रा अधिकार सुनिश्चित हुनेगरी ऐन, कानुन, निर्देशिका बनाइयोस् ।’
कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार