वैशाख ३० काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गर्नुभएको छ ।
बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो ।
“त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छाैँ । यसको लागि बजेट विनियोजना हुन्छ । थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई हामीेले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी छौँ ।’’
बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभयो ।
कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको स्पष्ट गर्नुभयो ।
देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।





