single head

स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने

single post top 1

चैत २१ ,काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ ।

single p1

सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो । यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि स्वीकृत गर्दै स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन सूचीमा उल्लेख भएका ३४ प्रकारका परीक्षणका लागि सो बराबरको रकम तोकिएको जनाएको छ ।

single p2

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका व्यवसायीहरूले भने सरकारले आफूहरूसँग कुनै छलफल नै नगरी निर्णय गरेको जानकारी दिएका छन् । उक्त विषयमा के गर्ने भन्ने विषयमा व्यवसायीसँग छलफल चलिरहेको नेपाल वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घले जनाएको छ ।

श्रमिकका लागि विदेश जाने बेला पहिले नै राहदानी, टिकट, तालिम, बिमालगायतका खर्च थुप्रै हुने गर्दछन् । यसमा परीक्षण शुल्क थपिएकाले गरिब तथा विपन्न वर्गका श्रमिकलाई थप आर्थिक भार थपिएको भन्दै आलोचना हुन थालेको छ ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सरकारको निर्णय अनुसार अब वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यस कदमले श्रमिकको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै परीक्षण शुल्कलाई पारदर्शी र सुलभ बनाउन सरकारले सबै परीक्षण समेटिएको प्याकेज शुल्क नौ हजार पाँच सय रुपियाँ तोकेको हो । जसमा वैदेशिक रोजगारमा जाने युवालाई सहुलियत हुनुपर्ने उल्लेख छ ।

मन्त्रालयले स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको सूचनामार्फत जानकारी गराएको छ । स्वास्थ्य परीक्षण गर्ने संस्थाको नियमनलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको भन्दै सूचीकृत स्वास्थ्य संस्थाले सूचना प्रकाशन भएको मितिदेखि दुई महिनाभित्र आवश्यक पूर्वाधार तयार गरी मन्त्रालयबाट आफैँले निरीक्षण गर्ने व्यवस्था गरिएको छ । तोकिएको समयसीमाभित्र पूर्वाधार तयार नगर्ने संस्थाको सूचीकरण तथा नवीकरण खारेज गरिनेसमेत सूचनामा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य परीक्षण प्रणालीलाई आधुनिक बनाउन सरकारले विद्युतीय प्रणालीमार्फत रिपोर्ट अपलोड गर्ने अनिवार्यता पनि लागु गर्ने भएको छ । यसका लागि विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको अन्तिम स्वीकृति अब स्वास्थ्य परीक्षण प्रतिवेदन विभागमा अनिवार्य रूपमा अपलोड गरेपछि मात्रै प्रदान गरिने सूचनामा उल्लेख छ । मन्त्रालयको सूचना अनुसार श्रमिकको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार थप सचेत रहेको छ । यसै सन्दर्भमा पूर्वप्रस्थान तालिममा स्वास्थ्यसम्बन्धी नयाँ विषय समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ बमोजिमको विशेषज्ञ समितिको सिफारिसमा उक्त निर्णय कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठित विशेषज्ञ समितिले गएको माघमै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहितको प्रतिवेदन श्रममन्त्री शरतसिंह भण्डारीसमक्ष बुझाएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3