फागुन १४ काठमाडौं । काठमाडौंमा जारी फोर नेसन्स वुमन्स फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार भीड्दैछन् । म्यानमार वरियतामा नेपाल भन्दा ४८ स्थान माथि छ ।
खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।
नेपाली टोलीले समग्रमा १३औं पटक कुनैपनि प्रतियोगिताको फाइनल खेल्दै छ । हालसम्म खेलेका १२ फाइनलमा नेपाल जित हासिल गर्न सकेको छैन ।
नेपाल र म्यानमारबीच हालसम्म भएका ५ खेलमा नेपाल जितविहीन छ । ३ खेल म्यानमारले जित्दा २ खेल बराबरीमा सकिएको छ ।
अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधबार हुने फाइनल खेल लागि भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको तोकिएको हो।
लिगमा भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रुपैयाँको टिकट दर राखिएको थियो। त्यस्तै फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने एन्फाले जनाएको छ।