फागुन ११,गैंडाकोट । साहित्यकार गोविन्दराज विनोदी गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुनुभएको छ ।
यस अघिको कार्यपालिका बैठकमा नगरप्रमुखको प्रस्तावलाई कार्यपालिकाले अनुमोदन गरेको थियो, आइतबार साहित्यकार विनोदीलाई नियुक्त गरिएको पत्र पत्राचार गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो ।
यस अघि गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको कुलपतिमा गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी रहनुभएको थियो । गैँडाकोट नगरपालिकाको १६ औँ नगरसभाबाट गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, दोस्रो पटक संशोधन गरेपछि स्रष्टाहरुलाई पनि कुलपति हुने बाटो खुलेको थियो ।
प्राज्ञ सदस्यमा रहने मध्येबाट नगरप्रमुखले तोकेको व्यक्ति (कुलपति) अध्यक्ष हुने व्यवस्था संशोधन गरिएको थियो । यस्तै प्रमुख संरक्षकमा नगरप्रमुख, संरक्षकमा उपप्रमुख रहने प्रावधान राखिएको छ ।