फागुन ३, गैंडाकोट । राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले संघीयताविरुद्ध आफ्ना सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको छ।
संघीयता खारेज गरौं ,आन्दोलन सफल पारौँ भन्ने उद्देश्यले शनिबार गैंडाकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८१ फागुन ०३ गतेदेखि चैत्र २३ गतेसम्म नवलपुर जिल्ला केन्द्रित आन्दोलन र चैत्र २४ देखि ३० गते सम्म काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ
राजमो नवलपुर प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गर्दै प्रदेशका मन्त्री, सांसद पाल्नुपरेको, जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता अखण्डतामाथि खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको जनाउँदै वर्षौं अघिदेखि संघीयता खारेज गर्नुपर्नेमा जोड दिएको थियो । संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रियतासहितको एकात्मक राज्य हुनुपर्ने, स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने राजमोको माग रहेको छ ।
जनआन्दोलन दिवसको अवसर पारेर आगामी चैत २४ देखि ३० गते काठमाडौँमा संघीयता खारेजीको आन्दोलन सुरु हुने र सोही आन्दोलन सफल पार्न राजमो नवलपुरले विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। आन्दोलन चैत ३० सम्म सञ्चालन हुने छ । जिल्लाभित्र आन्दोलनका कार्यक्रमहरू फागुन ३ गतेदेखि सञ्चालनमा आउने जानकारी राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष गिरबहादुर महतारा गराएका छन् ।
महताराले फागुन ३,१२ र १६ गते गैंडाकोट नगरपालिकाका विभिन्न स्थानमा कोणसभा गर्ने, फागुन १० गते सम्म अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने, माघ २० गतेदेखि फागुन २० गतेसम्म जिल्ला भर वाल पेन्टिङ गर्ने, फागुन २५ गते जी.प्र.का नवलपुरमा ज्ञापनपत्र बुझाउनुका साथै कोणसभा गर्ने, चैत्र १ देखि ५ गतेसम्म मोटरसाइकल जुलुस, दौड जुलुस, सिठी जुलुस गर्ने, चैत ८ गते संघीयताको मृत्यु घोषणा गर्दै जिल्लाका मुख्य बजारमा शङ्खध्वनि बजाउने, चैत १० देखि १४ सम्म बुङ्गदिकाली, बुलिङटार, डेडगाउँ, सर्दीसम्म माइकिङ र प्रचारप्रसार गर्ने र चैत्र १४ देखि २३ गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन सफल बनाउन जिल्लाभरका नेता कार्यकर्ता र आम जनतालाई प्रस्थानको तयारी गराउने लगायत कार्यक्रमहरू घोषणा गरेको हो । कार्यक्रममा राजमो नेपालका केन्द्रीय सदस्य दीपक पाण्डे लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।