माघ २५ काठमाडौँ । सरकारले माथिल्लो सदन राष्ट्रिय सभामा अध्यादेश स्वीकार हुने सुनिश्चित नदेखेपछि सहमतिका लागि थप समय मागेको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकारले अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएका दलसँग समेत सहमति र समन्वय गर्ने तथा सोका लागि समय मागेपछि राष्ट्रिय सभाको बिहीबारको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तालिका कार्यसूचीबाट हटाइएको छ ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकहरूसँगको बैठकमा सरकारले समय उपलब्ध गराउन राखेको प्रस्तावमा समझदारी भएपछि सहमतिमै कार्यसूचीबाट अध्यादेश निर्णयार्थ पेस गर्ने विषय हटाइएको बताउनुभयो । सभाको बिहीबारको बैठक बस्नुअघि समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएका दलसँग सहमति र सहकार्य गर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सदस्य मोहम्मद खालिदले कानुनमन्त्री चौरसियाले सहमतिका लागि प्रयास भइरहेको र अध्यादेश अर्को बैठकमा निर्णयार्थ पेस गर्न आग्रह गरेपछि सो विषय कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।





