माघ २२ रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल हुँदैछ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अबसर पारेर हरेक बर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ ।
रेबान सौराहाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सौराहा फुड फेस्टिवलको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको थियो
समग्र सौराहाको पर्यटन विकास गर्ने, ५ दिन सम्म सञ्चालन हुने १९ औं सौराहा फूड फेस्टिवललाई भव्य, सभ्य र स्तरीय रुपमा मनाउँदै यस क्षेत्रका विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृक्ति-भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको रेबान सौराहामा अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।
फेस्टिवलमा ‘थारू, नेवार समुदायका परम्परागत परिकारको साथै जापानिज, चाइनिज, मेक्सिकन परिकार रहने रेबान सौराहामा अध्यक्ष गिरीले बताउनुभयो ।
सुस्ताएको पर्यटन व्यवसायलाई गतिशिलता प्राप्त गर्ने र यसले सम्पूर्ण पर्यटन व्यवसायीहरुमा नयाँ उमङ्ग र उत्साह थप्नुको साथै स्थानीय जनमानसमा हालको आर्थिक मन्दीले थकित तथा त्रसित बनाएको मानसिकतामा पुनर्ताजकीका साथै सौराहाको पर्यटनलाई विगतकै अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम संयोजक शम्भु प्रसाद मालीले जानकारी दिनुभयो।
“प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा हुने फेस्टिवल हुने छ ।
कार्यक्रमको आयोजक रेवान सौराहा रहेको छ भने सह आयोजकमा क्षेत्रीय होटल संघ नेपाल,चितवन र युनाईटेड हात्ती संचालन सहकारी संस्था रहेका छन्। प्रर्वद्धकको रुपमा नेपाल पर्यटन बोर्ड, संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र पर्यटन कार्यालय सौराहा रहेको छ । संरक्षकको रुपमा रत्ननगर नगरपालिका र मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी प्रालि रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।
९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोढ सम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिबल अबलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए ।
रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको पत्रकार सम्मेलनमा सौराहा पर्यटन विकास समिति रत्ननगरका अध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, फेस्टिबलका आर्थिक उपसमितिका संयोजक सुवासचन्द्र गौतम लगायतले मन्तव्य राखेका थिए । फेस्टिबल अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरेका छन् ।