माघ २२, गैँडाकोट । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत गैंडाकोट नगरपालिकाका ३ हजार तिन सय ६६ जना छात्रालाई एचपिभि खोप लगाईने भएको छ।
एचपिभि खोप सम्बन्धी जानकारी दिने उद्देश्यले मंगलबार गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित संचारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रममा सो कुरा जानकारी गराईएको हो।
गैंडाकोट नगरपालिका भित्र माघ २२ गतेदेखि २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका ३३ सय ६६ किशोरीहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो।
गैँडाकोट नगरपालिका भित्र मंगलबार गैँडाकोट ३ को जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई खोप लगाएर शुरुवात गरिएको छ । गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाईनेछ। विद्यार्थीको परिचयपत्र वा जन्मदर्ताको आधारमा खोप लगाउन सकिने छ ।
सबैभन्दा धेरै जनक नमुना माविमा ४५१, कालिका माविमा ३१८, रत्नराज्य लक्ष्मी माविमा २४८, सुर्योदय बोर्डिङ्गमा १९३, लक्ष्मी मावि अमरापुरीमा १८२ छात्रा रहेका छन्। त्यस्तै सबैभन्दा थोरै शिसु निकेतन ईङ्गलिस स्कुल गैंडाकोटमा २ मा ३ जना र विरेन्द्र आवि रतनपुरमा २ जना छात्रा रहेको जनस्वास्थ्य निरीक्षक आचार्यले बताउनुभयो।
खोप अवधिभर विद्यालय भन्दा बाहिर रहेका उक्त उमेर समूह र कक्षामा अध्ययनरत औद्योगिक क्षेत्र तथा सडक निर्माण र बिभिन्न पेशा व्यवसायका कारण बाबुआमासँग रहेका १५० जना छात्रालाई पनि यस खोप अभियानमा समावेश गर्ने समेत लक्ष्य रहेको आचार्यले बताउनुभयो।
पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गरेको हो ।पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ । यसकै कारण दिन यो क्यान्सरबाट ४ जनाको ज्यान जाने अध्ययनले देखाएको छ ।