माघ १८, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
सभापति देउवाले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य राजनीतिक दलको पनि सरकारमा सहभागिता र समर्थन छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरुको पनि निरन्तर सहयोग रहनेछ भन्ने मैले विश्वास गरेको छु।”
सभापति देउवाले वर्तमन सरकार गठन भएको साढे ५ महिना पूरा भएको भन्नुहुँदै विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण यो सरकार गठन भएको बताउनुभयो।