spot_img

Saturday, March 22, 2025

पहिलो छ महिनामा बिमा कम्पनीले ८१ अर्ब रुपियाँभन्दा बढी बिमा शुल्क आर्जन गरे

माघ १३ काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा जीवन बिमा व्यवसाय गर्ने बिमा कम्पनीले ८१ अर्ब रुपियाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपालमा सञ्चालित १४ वटा जीवन बिमा तथा तीन लघु बिमा कम्पनीले पुस मसान्तसम्ममा कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका हुन् ।

  • -advertisement-

जसमध्ये १४ वटा जीवन बिमा कम्पनीले मात्रै ८० अर्ब ६६ करोड ३८ लाख रुपियाँ बराबरको व्यापार गरेका छन् भने तीन जीवन लघुबिमा कम्पनीले ५१ करोड २९ लाख ९५ हजार रुपियाँको व्यवसाय गरेका छन् । नियामक बिमा प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा जीवन बिमा कम्पनीको व्यापार १५ अर्ब तीन करोड १५ लाख रुपियाँले बढेको हो । गत मङ्सिरसम्म जीवन बिमा कम्पनीहरूले कुल ६६ अर्ब १४ करोड ५३ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

समीक्षा अवधिमा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगारबाहेकको प्रथम बिमा शुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बिमा शुल्क एक अर्ब ४३ करोड ४३ लाख तथा नवीकरणबापत ६३ अर्ब ३८ करोड ८० लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका हुन् । जीवन बिमाको कारोबार गर्ने तीन लघु बिमा कम्पनीले २८ करोड सात लाख प्रथम बिमा शुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् । लघु जीवन बिमकले छ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको छ महिनासम्मको अवधिमा बिमा शुल्क सङ्कलनको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफले पुससम्ममा सबैभन्दा धेरै १८ अर्ब ३६ करोड ५६ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआइसी नेपालले आठ अर्ब १२ करोड ९८ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार