spot_img

Saturday, March 22, 2025

ब्रोइलर कुखुराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिक/ सुरक्षित तरिकाले उपभोग कसरी गर्ने ?

काठमाडौं । नेपालमा मात्र नभइ विश्वमै कुखुराको मासु अत्यधिक मात्रामा उपभोग गरिन्छ । तर, आजभोलि कुखुराको मासु आशंकाले घेरिएको छ । कुखुरापालन व्यवसाय कम लागतमा सजिलो र छोटो समयमा उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा परेको छ । तर, अप्राकृतिक ढंगले उत्पादन गरिएको ब्रोइलर कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ भन्ने विभिन्न अध्ययनले औंल्याएका छन् ।

ब्रोइलरको मासु मानव स्वास्थ्यका लागि कति उपयोग गर्ने बुझ्नु आवश्यक छ । छिटो र बढी तौलका कुखुरा उत्पादन गर्न प्रयोगमा ल्याइने कतिपय औषधि मानव स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने कुरा पत्ता लगाउन त्यति गाह्रो छैन । अत्यधिक औषधि खुवाएर २०–२५ दिनमै हुर्काइएका कुखुराको मासुले कति फाइदा होला भन्ने कुरा बुझ्न आवश्यक रहेको सरोकारवालाले बारम्बार भन्दै आएका छन् ।

  • -advertisement-

ब्रोइलर कुखुराको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यसैले उनीहरूलाई रोग लागेको खण्डमा एन्टिबायोटिक दिनैपर्ने अवस्था हुने केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. वरुणकुमार शर्मा बताउँछन् । उनी भन्छन्, ‘त्यो एन्टिबायोटिक खाएर पूर्णरूपमा निको भइसकेपछि मात्र कुखुरा बजारमा बिक्रीको लागि जान्छ । जसले गर्दा केही दिनमा त्यो एन्टिबायोटिकको असर सकिएको हुन्छ र मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने सम्भावना कम हुन्छ ।’

शर्माका अनुसार, एन्टिबायोटिक चलाएर तुरुन्तै त्यो ब्रोइलर कुखुरा बजारमा बिक्री गरियो र त्यो कुखुरालाई मानिसले खाँदा एन्टिबायोटिकले असर गर्न सक्ने सम्भावना हुन्छ । त्यसैले किसानले कुनै ब्रोइलर कुखुरामा एन्टिबायोटिक प्रयोग गरिएको छ भने त्यसको ‘बिडिंग पिरियड’ अगाडि नै बजारमा लैजान नहुने सुझाव दिन्छन् ।

उनका अनुसार कुनै ब्रोइलर कुखुरामा संक्रमण देखिएको छ भने त्यसको नियन्त्रणका लागि एन्टिबायोटिक दिइन्छ । उक्त एन्टिबायोटिक दिएको कति दिनपछि कुखुरालाई वीड्र गर्ने भनेर तोकिएको हुन्छ । यो समय अवधि करिब ५ देखि १० दिनको हुन्छ । वीड्र गर्ने भनिएको समयअगावै बजारमा त्यस्ता कुखुरा नआउनुन् भनेर बेला–बेला प्रयोगशालाले फार्ममै गएर परीक्षण तथा अवलोकन गर्ने गरेको डा. शर्माको भनाइ छ ।विभिन्न जिल्लामा परीक्षण गर्दा केही कुखुरामा एन्टिबायोटिकको मात्रा बढी पाइएको छ । तर, भयावहरूपमा एन्टिबायोटिकको प्रयोग भने भएको नपाइएको उनले स्पष्ट पारे ।

एन्टिबायोटिक र मासु

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाको २०७९/०८० को तथ्याङ्कअनुसार ७१ वटा ब्रोइलर कुखुराको मासुका नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको मासुमा जेन्टामाइसिनको तह बढी पाइएको हो । त्यो वर्ष प्रयोगशालाले ४१ वटा नमूनामा टेट्रासाइक्लिन, ४१ वटामा कोलोस्टिन र ३८ वटामा सिफ्रोफ्लाक्सिनको मात्रा परीक्षण गरेको थियो । यी सबै औषधि एन्टिबायोटिक समूहमा पर्छन् ।

त्यसैगरी भेटेरिनरी गुणस्तर तथा औषधि नियम शाखाले आर्थिक वर्ष २०७८/०७९ मा गरेको इलाइजा प्रक्रियाबाट गरिएको ८० वटा नमुनामा दुईवटा कुखुराका मासु र चारवटा कलेजोमा सिफ्रोफ्लाक्सिन नामक एन्टिबायोटिक मापदण्डभन्दा बढी भेटिएको थियो । सोही प्रयोगशालाले आव २०७७/०७८ मा गरेको ८० वटा कोलोस्टिन सल्फेट र ४१ वटा टेट्रासाइक्लिन परीक्षण गरेकोमा कुनैमा पनि एन्टिबायोटिक देखिएन ।

केन्द्रीय पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशालाले आर्थिक वर्ष २०७८/०७९ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कैलालीबाट संकलन गरिएको ४२ वटा कुखुरा मासुमध्ये एउटा नमुनामा जेन्टामाइसिनको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । उक्त नमुना कैलालीका मासु पसलबाट संकलन गरिएको थियो । त्यो वर्ष प्रयोगशालाले एन्टिबायोटिक परीक्षणका लागि ३ सय ६८ वटा नमुना संकलन गरेको थियो ।

केन्द्रीय प्रयोगशालाले आव ०८०/०८१ मा परीक्षण गरेका ४१ वटा नमुनामध्ये दुईवटा कुखुराको मासुको नमुनामा फ्लोरोक्विनोलोन्सको मात्रा बढी पाइएको हो । उक्त नमुना सिन्धुपाल्चोकबाट संकलन गरिएको थियो । त्यो वर्ष प्रयोगशालाले विभिन्न एन्टिबायोटिक पत्ता लगाउन तीन सय १४ वटा नमुनाको इलाइजा प्रक्रियाबाट परीक्षण गरेको थियो ।

यी दुवै प्रयोगशालाको प्रतिवेदनले तीन वर्षको अवधिमा कुखुराको मासु र चारवटा कलेजोको नमुनामा विभिन्न प्रकारका एन्टिबायोटिकको अवशेष भेटिएको देखाएको छ । यो हिसाबले ११ वटा नमुनामा इलाइजा विधिबाट एन्टिबायोटिकको मात्रा मापदण्डभन्दा बढी देखिएको प्रतिवेदनले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक विवरणअनुसार केही समयअघि गरिएको एक अध्ययनमा काठमाडौं उपत्यकामा रहेका ब्रोइलर पोल्ट्री फार्ममा ९० प्रतिशतसम्म मानव स्वास्थ्यको लागि हानिकारक विभिन्न प्रकारका एन्टिबायोटिकको प्रयोग गरेको पाइएको थियो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाकी सूचना अधिकार डाक्टर लुना गंगोल ब्रोइलर कुखुराको रोगप्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएको अवस्थामा एन्टिबायोटिक दिइने बताउँछिन् । ‘ब्रोइलर कुखुरलाई जाँच गर्दा त्यसमा कुनै संक्रमण छ भने उक्त संक्रमण निको गर्नका लागि दिइन्छ । तर, उपचार गर्नेक्रममा सधैँ ब्रोइलर कुखुरालाई एन्टिबायोटिक दिइन्छ भन्ने हुँदैन,’ सूचना अधिकारी गंगोल भन्छिन्, ‘संक्रमण कुन लेबलमा पुगेको छ त्यसलाई मध्यनजर गरी बोइलर कुखुरामा एन्टिबायोटिक प्रयोग गरिन्छ । कुनै संक्रमण एन्टिबायोटिक प्रयोग नगरी नै निको हुन्छ भने त्यसलाई एन्टिबायोटिक दिइँदैन ।’

कुखुरालाई रोग लाग्दा एन्टिबायोटिक दिनुपर्ने भए पनि केही दिनमै यसको असर सकिने भएकाले मानव शरीरमा नकारात्मक प्रभाव पर्ने सम्भावना कम हुने उनको भनाइ छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले कुखुरामा अत्यधिक मात्रामा एन्टिबायोटिकको मात्रा नपाइएको स्पष्ट पारे पनि माथि उल्लेखित तथ्यांकले ब्रोइलर कुखुरामा एन्टिबायोटिकको प्रयोग हुने गरेको आधारलाई भने नकार्न सकिँदैन । त्यसो भए नेपाली बजारमा अत्यधिक माग तथा उपभोग भइरहेको कुखुराको मासु कसरी खाने ? भन्ने प्रश्नमा डा. गंगोल भन्छिन्, हामीकहाँ काँचो मासु खाने प्रचलन कम भएकाले पनि स्वास्थ्यमा जोखिम निम्तिने सम्भावना न्यून छभन्दा फरक पर्दैन । तर, सचेत भने रहन आवश्यक छ ।’

उनका अनुसार आम उपभोक्ता तथा व्यापारीले आफू कस्तो कुखुरा फार्मबाट कुखुरा किन्दैछु भन्ने कुरामा ध्यान दिन जरुरी छ । उपभोक्ताले सफा मासु पसलबाट खरिद गर्नुपर्छ । घरमा ल्याइसकेपछि मासुलाई राम्ररी सफा गरेर पकाउने गर्नुपर्छ । नेपालमा प्रायः काँचो मासु खाने प्रचलन कम भएकाले राम्ररी पकाएर खाँदा स्वास्थ्यलाई कुनै किसिम समस्या नहुने डा. गंगोलको भनाइ छ ।

मासुको गुणस्तर मापन आवश्यक

ब्रोइलर कुखुरामा धेरै मात्रामा प्रयोग हुने एन्टिबायोटिकले मानव स्वास्थ्यमा दीर्घकालीनरूपमा नकारात्मक असर पनि गर्न सक्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउँछन् ।

ब्रोइलर कुखुरामा एन्टिबायोटिक दिँदा त्यसको स्वास्थ्य अवस्थाको पहिचान गरेर प्रयोग गर्ने तरिका, मात्रा र समयमा ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी व्यवसायीलाई दिन सकियो भने मात्र यो समस्याबाट बच्न सकिने उनको भनाइ छ ।

कुखुरालाई धेरै मात्रामा एन्टिबायोटिक दिँदा मानव स्वास्थ्यमा असर पर्न सक्छ भन्ने कुरालाई सरकारले ब्रोइलर कुखुरापालक किसान र व्यवसायीलाई सचेत गराउनुपर्ने रायमाझी सुझाउँछन् ।‘एन्टिबायोटिकको मात्रा बढी दिइएका ब्रोइलरको मासु मानव स्वास्थ्यमा असर गर्छ भन्ने कुराको अध्ययन विश्वभर भइरहेको छ,’ उनी भन्छन् ।

कुखुराको मासुमा एन्टिबायोटिकको मात्रा धेरै गरिएको छ कि छैन भन्ने कुराको अनुसन्धान गर्ने र व्यवसायीलाई एन्टिबायोटिकको प्रयोग मात्रा भन्दा धेरै गर्न नहुने कुरामा सचेत गराउन सरकार तथा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने रायमाझी भनाइ छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार