माघ ४ गैँडाकोट । गैँडाकोट नगरपालिकाको १६ औँ अधिवेशन शुक्रबार गैँडाकोट नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नगर अधिवेशनमा अर्धबार्षिक प्रगति तथा वजेट बक्तव्य प्रस्तुत गर्दै नगर उपप्रमुख शान्ति कोइरालाले चालु आर्थिक बर्ष २०८१/०८२ मा विनियोजित बजेट मध्ये हाल सम्म ३८.५३ प्रतिशत वित्तीय प्रगति रहेको बताउनुभयो ।
चालु तर्फ ६७ करोड ६५ लाख ३१ हजार विनियोजन भएकोमा हाल सम्म ३८.५३ प्रतिशत वित्तीय प्रगति रहेको हो भने पुँजीगत तर्फ ३६ करोड ६२ लाख २५ हजार विनियोजन भएकोमा १६.३८ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख कोइरालाले बताउनुभयो ।
चालु आर्थिक बर्ष २०८१/०८२ को कूल वजेट १ अर्व ४ करोड २७ लाख ५६ हजार रुपैया अनुमान रहेको छ । हालसम्म आन्तरिक राजश्च तर्फ २६ करोड १९ लाख २६ हजार प्रक्षेपण गरिएकोमा हालसम्म १० करोड ९५ लाख ७५ हजार अर्थात ४१.८३ प्रतिशत मात्र संकलन भएको कोइरालाले जानकारी दिनुभयो ।
त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड अन्तर्गत १३ करोड ७६ लाख ९९ हजार आय अनुमान गरिएकोमा हालसम्म नगरपालिकामा ५ करोड ४५ लाख २८ हजार अर्थात् ३९.५९ प्रतिशत मात्र प्राप्त भएको छ भने प्रदेश सरकारबाट प्राप्त हुने सवारीसाधन कर तर्फ २ करोड ११ लाख ६४ हजार आय अनुमान गरिएकोमा हालसम्म ५८ लाख ८८ हजार अर्थात २७.८२ प्रतिशत मात्र प्राप्त भएको जानकारी दिनुभयो । यसै गरी आन्तरिक आय अनुमान मध्ये घर जग्गा रजिष्ट्रेशन दस्तुर तर्फ ५ करोड ८० लाख अनुमान गरिएकोमा हाल सम्म १ करोड १ लाख ५७ हजार अर्थात १७.५१ प्रतिशत मात्र प्राप्त भएको उहाँको भनाई छ ।
गैँडाकोट नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटाले स्थानीय वन विधेयक २०८१ सभामा प्रस्तुत गर्दै नगरपालिकाले राष्ट्रिय वन क्षेत्रमा पर्ने नदीजन्य साधारण निर्माणमूखी खनिज पदार्थको विक्रि वितरणबाट प्राप्त रकममध्ये २५ प्रतिशत रकम सम्बन्धित वन उपभोक्ता समुह सँगको समन्वयमा प्रभावित क्षेत्रको वन तथा वातावरण संरक्षणमा खर्च गर्नुपर्ने बताउनुभयो ।
उहाँले सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार विक्रि वितरण गरी प्राप्त गरेको रकममध्ये दफा २२ वमोजिम कुल प्राप्त रकमको १० प्रतिशत नगरपालिकालाई बुझाई बाकीँ हुन आएको रकमको २५ प्रतिशत रकम सामुदायिक वनको दिगो व्यवस्थापनमा खर्च गर्नुपर्ने जानकारी गराउनुभयो ।
नगर सभामा सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटाले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, दोस्रो पटक संशोधन गरिएको जानकारी दिनुभयो । नगरसभाबाट प्राज्ञ सदस्यमा रहने मध्येबाट नगरप्रमुखले तोकेको व्यक्ति (कुलपति) अध्यक्ष हुने सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै प्रमुख संरक्षकमा नगरप्रमुख, संरक्षकमा उपप्रमुख रहने प्रावधान राखिएको छ । उपकुलपति उपाध्यक्ष हुने र प्रमुख प्रशासकिय अधिकृत, नगर शिक्षा अधिकारी, नगर कार्यपालिका सदस्यबाट १ महिला सहित कम्तिमा कार्यपालिकाले तोकेका ४ जना सदस्य रहने, नगरभित्रका भाषा–साहित्य कला, संगित र संस्कृतिका बिज्ञ र लामोसमयदेखि साधना गरिरहेका ३५ जना मनोनित सदस्य, शिक्षा युवा तथा खेलकुद शाखाबाट १ जना अधिकृत सदस्य सचिव, सामाजिक विकास समितिबाट समितिले तोकेको १ जना सदस्य रहने जनाइएको छ ।
नगरपालिका कार्यालयको आर्थिक बर्ष २०७९।०८० को श्रेस्ताहरु महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गर्दा देखिएका बेरुजु मध्ये ८० लाख ८९ हजार ६ सय ३६ रुपैया नियम संगत नभएको बेरुजु कायम देखिएको लेखा समिति संयोजक देविदत्त कँडेलले जानकारी दिनु भयो । रकम नियम संगत भएको र कार्यालयले स्वीकृत वार्षिक कार्यक्रममा समावेश गरेका कार्यक्रममा मात्र खर्च गरेको ,खर्च गर्दा विधिसम्मत र प्रचलित ऐन कानून अनुसार नै खर्च गरेको जनाइएको छ ।
लेखा समितिको प्रतिवेदन नगरकार्यपालिका लेखा समिति संयोजक देविदत्त कँडेलले प्रस्तुत गर्नुभएको हो । कँडेलले बेरुजु कम गरेर अगाडी बढ्ने बताउनुभएको छ ।
गैँडाकोट नगरपालिकाको १६ औँ अधिवेशनले गैँडाकोट नगरपालिकाको स्थानीय वन विधेयक २०८१, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, दोस्रो पटक संशोधन प्रस्ताव, गैँडाकोट नगरपालिकाको लेखा समितिको प्रतिवेदन, गैँडाकोट नगरपालिकाको संगठन संरचना ऐन, गैँडाकोट नगरपालिकाका नीतिगत ऐन र प्रस्ताव बहुमतले पारित भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सो ऐन र प्रस्ताव प्रस्तुत गर्दै बहुमतले पारित भएको बताउनुभयो ।
यस्तै नगर सभासदले बोल्ने समयमा गैँडाकोट ६ का चन्द्रबहादुर विश्वकर्माले मात्रै आफ्ना धारणा राख्नुभएको थियो । उहाँले गरिव र विपन्न वर्गलाई पहिलो नगरसभाबाट नै हेर्ने काम गर्ने कुरा हुँदा अहिलेसम्म राम्रोसँग कार्यान्वयनमा नआएको बताउनुभयो । साथै उहाँले शिक्षा, रोजगारी र करका विषयमा अझै छलफल हुन र करको मार नागरिकमा कम पर्ने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँको जिज्ञासाको समाधान गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खानालले करको दायरा बढाउने तर करको दर नवढाउने नीतिका साथ अगाडी बढेको बताउनुभएको छ ।
यसैबिच गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम र सुचना प्रबिधि अधिकृत विनोद न्यौपाने नगद १० हजार र सम्मानपत्रले उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुनुभएको हो ।