पुस २७,काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभएको हो । उहाँले यसका असरहरू आर्थिक, सामाजिक एवम् पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रूपमा देखिँदै आएको जानकारी दिनुभयो ।
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयास गर्नुपर्ने बताउनुभयो । नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकुलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले भन्नुभयो, अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्नेछ ।’’
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवम् अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्त्वपूर्ण रहेको पौडेलले बताउनुभयो ।
अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउनुभयो । गोरखापत्र