पुस २२ ,काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा राष्ट्रपति र उपराष्ट्रपति भैसकेको व्यक्ति फेरि दलीय राजनीतिमा फर्किने कुरा सही नभएको भन्दै विरोध भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि बोल्दै केन्द्रीय सदस्यहरुले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी राजनीतिमा फर्किएकोमा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किन लागेकोमा प्रश्न उठाएका हुन । नन्दबहादुर पुन माओवादी बैठकमा सहभागी हुँदै उपाध्यक्षको लहरमा बस्दै आएका छन् ।
माओवादी केन्द्रीय सदस्य राजबहादुर बुढाले सम्मानित पदमा बसिसकेको व्यक्ति दलीय राजनीतिमा आउन नहुने बताए । ‘राष्ट्रपति र उपराष्ट्रपति जस्तो सम्मानित पदमा बसिसकेको व्यक्ति फेरि पार्टीको राजनीतिमा आउनु सम्मान हो कि अपमान ?’ उनले प्रचण्डलाई प्रश्न सोधेका एक नेताले जानकारी दिए ।
यस्तै अर्का केन्द्रीय सदस्य कृष्णसिंह थारुले पनि यो विषयमा प्रश्न उठाउँदै प्रचण्डसँग जवाफ मागेका छन् । ‘राष्ट्रपति र उपराष्ट्रपति भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु मर्यादित कुरा हो ?’ थारुले बैठकमा भने, यसमा पार्टीले हेक्का राख्नुपर्छ । ‘
बुढा र थारुले पार्टी पहिचान र समावेशीताको मुद्दाबाट अलग हुँदै गएको गुनासो गरे । कोशी प्रदेशमा पहिचानको मुद्दामा भैरहेको लडाइँमा नेतृत्वले ध्यान नदिएको उनीहरुले बताए । समावेशी समानुपातिक सम्भ्रान्त वर्गको कब्जामा गएको उनीहरुको टिप्पणी छ ।