पुस २१, काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै कुनैपनि राजनीतिक दलमा नरहेको घोषणा गरेका हुन् । नेकपा एमालेका तर्फबाट दुई पटक संसदीय चुनाव लडेका खनालले एमालेमा नरहेको प्रष्ट पार्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् ।’ स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’ उनले लेखेका छन् ।
३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी ६ असोज २०७९ मा केपी ओलीको हातबाट टिका लगाउँदै उनी एमाले प्रवेश गरेका थिए । त्यसपछि उनी काठमाडौं–६ बाट एमाले उम्मेदवार भएर प्रतिनिधिसभाको चुनाव लडे । पछि तनहुँ– १ मा भएको उपचुनावमा पनि खनाल एमालेबाटै चुनाव लडे । तर काठमाडौंमा रास्वपाका शिशिर खनालसँग पराजित भएका सर्वेन्द्र तनहुँमा पनि रास्वपाकै स्वर्णिम वाग्लेसँग पराजित भए ।