पुस ३,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् ।
लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ ।
खेल जित्ने टोली क्वालिफायर टु मा पुग्नेछ । एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोली सँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ ।
लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो ।
अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डौं गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो ।
चितवन र कर्णाली दुवैले लिग चरणमा कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेन । चितवनले सुरूवाती दुई खेल जितेर राम्रो सुरूवात पाएपनि त्यसपछि हार्ने जित्ने क्रम चलिरह्यो । अन्तिम लिगमा जित हात पारेर चितवनले प्लेअफ यात्रा तय गरेको थियो ।
कर्णालीले सुरूवाती दुई खेल हारेर पनि लगातार चार खेल जित्यो तर अन्तिम खेलमा फेरि पराजित भयो ।
यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् । शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बीचको विजेता फाइनल पुग्ने छ ।
सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ ।
पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै फाइनलमा स्थान सुरक्षित गर्ने छ भने दुई दिनको ग्याप समेत प्राप्त गर्ने छ । यस खेलमा पराजित हुने टोलीका लागि भने अर्को मौका हुनेछ । इलिमिनेटरको विजेतासँग खेलेर हराएमा फाइनल पुग्ने अर्को विकल्प रहन्छ ।भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।