spot_img

Saturday, March 7, 2026

नवलपुरका नेवार समुदायबीच गैडाकोट नगरमा य:मरी पुन्ही पर्व मनाइयो

मंसिर ३०, गैंडाकोट। विशेषगरी काठमाडौँका नेवार समुदायले मनाउने य:मरी पुन्ही पर्व सांस्कृतिक चेतना जागरणसँगै देशभरका अन्य जिल्लामा पनि मनाउन सुरु गरिएको छ ।यसैक्रममा नेवा मिसा दबु गैंडाकोट नगरसमितिले नवलपुरका नेवार समुदायबीच गैडाकोट नगरमा य:मरी पुन्ही पर्वलाई निरन्तरता दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाले आफ्नो वडा संस्कृतिको खानी भएको भन्दै नेवार समुदायमा मात्र मनाइने य:मरी पुन्ही पर्वलाई नगरमा विभिन्न समुदाय मार्फत सहकार्य गर्दै जनजातिको एकतामा टेवा पुर्‍याउन मद्दत गरेको जनाए । कार्यक्रमका अर्का विशिष्ट अतिथि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आफ्नो कला संस्कृति र पहिचानलाई यसरी सार्वजनिक रूपमै मनाउने प्रक्रिया सुरुवात गरेकोमा नेवा मिसा दबु गैंडाकोट लाई धन्यवाद दिए।

सोही कार्यक्रमका अतिथि नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक अभियन्ता गोकुल सापकोटाले अन्य जातजातिले कुल वा गुठीको माध्यमबाट आआफ्नै परिवारमा मात्रै आफ्नो चाड मनाउँदै आएकोमा नेवार समुदायमा मात्रै मानिने य:मरी पुन्ही पर्वलाई खुल्ला रूपमा आफ्नो संस्कृति र पहिचान सर्वसाधारण माझ मनाउँदै जातीय एकता कायम गरेकोमा नेवा मिसा दबु गैंडाकोट नगरको मुक्तकण्ठले प्रशंसा गरे ।

नेवा मिसा दबु गैंडाकोट नगरकी अध्यक्ष तथा कार्यक्रम सभापति सीता श्रेष्ठले नेपाल भाषामा थिल्ला पुन्ही पनि भनिने यो पर्वमा देवीदेउतालाई चढाएर मात्र परिवार बसेर य:मरी खाने चलन भए पनि हामी हाम्रो संस्कृति र सभ्यतालाई आम मानिससम्म चिनाउन चाहन्छौँ उनले आफ्नो मन्तव्यमा बताइन्।

कार्यक्रममा ललित श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, शाकिला परियार, शिव कुमार श्रेष्ठ, शिव भुसाल, सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। बबिता बलामी श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई नेवा मिसा दबु गैंडाकोट नगरसमिति सचिव शर्मिला श्रेष्ठले सहजीकरण गरेकी थिइन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :