स्वर्ण महोत्सव २०८१ घोषणा सभा, मूल समारोह समिति भेलासँगै पत्रकार सम्मेलन समेत गरिएको कार्यक्रममा प्रमुख अतिथि नगरका मेयर मदनभक्त अधिकारी रहेका थिए। प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको सुन्दर नगर बनाउनका लागि नगरभित्र रहेका सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको प्रमुख अतिथि अधिकारीले बताउँदै उनले जिल्लामै पहिलोपटक फरक क्षमता भएका विद्यार्थीहरू अध्यापन गराउने विद्यालयलाई नगरले विशेष सहयोग गर्ने बताएका छन् ।
२०३२ सालमा स्वर्गीय शमशेर बहादुर अधिकारीको स्मृतिमा यस क्षेत्रका शिक्षा प्रेमीहरूको प्रयासमा विद्यालयको स्थापना भएको थियो । विभिन्न दाताको सहयोगमा सञ्चालित विद्यालयको स्वर्ण महोत्सवका अवसरमा विभिन्न विषयगत अक्षय कोषहरू निर्माण गर्ने क्रम पनि जारी रहेको छ। यसैबीचमा गैंडाकोटका समाजसेवी सोहनभक्त अधिकारीको स्मृतिमा श्रीमती प्रेमकुमारी अधिकारी लगायत छोराहरू सुकेशभक्त अधिकारी, दीपक भक्त अधिकारीले रु पाँच लाख रुपैयाँको स्मृति कोषको समेत निर्माण भएको छ। सोही घोषणा सभामा विद्यालयका पूर्व विद्यार्थी को सक्रियतामा विद्यालयलाई रु ६ लाख बराबरको विज्ञान प्रयोगशाला सामग्री प्रदान गरिने पूर्व विद्यार्थी मञ्चका संयोजक गणेश अधिकारीले जानकारी दिएका छन्। स्वर्ण महोत्सव १८ दिन सम्म चल्ने मुल समारोह समितिले जनाएको छ ।