spot_img

Wednesday, May 21, 2025

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा पहिलो जित हासिल गर्यो

 मङ्सिर २५,काठमाडौं ।  नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ ।

चितवन राईनोजलाई ३३ रनले हराएको हो । लुम्बिनीले लगातार चार हारपछि पहिलो जित निकाल्दा  कप्तान रोहित पौडेल नायक रहे । उनले अलराउण्ड प्रदर्शन गरे ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद विन जाफरले अर्धशतकीय इनिङ्स खेल्नुभयो । रोहितले ८० रन बनाउनुभयो । उहाँले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

साद विन जाफरले अविजित ५२ रन बनाउनुभयो । उहाँले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाउनुभयो ।

बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिनुभयो ।

जितका लागि एक सय ६८ रनको रनको लक्ष्य पछ्याएको चितवन राईनोज निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।

चितवनका लागि लक बेनकेस्टिनले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै कप्तान कुशल मल्लले २०, रिजन ढकालले अविजित १५, रवि बोपराले १२ र ओपनर सन्तोष कार्कीले १० रन बनाउनुभयो ।

बलिङमा लुम्बिनीका कप्तान रोहितले चार विकेट लिनुभयो । उहाँले चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रोहित प्लेयर अफ दि म्याच बन्नुभयो । यस्तै रामोन सिमोन्डले दुई तथा साद विन जाफर र अविशेष गौतमले एक एक विकेट झार्नुभयो ।

पहिलो जितसँगै लुम्बिनीले पाँच खेलबाट दुई अङ्क बनाएको छ । लुम्बिनीलाई प्लेअफमा स्थान बनाउन अबका खेल जित्नुपर्ने बाध्यतासँगै अरुको नतिजाले पनि भर पर्नेछ ।

यस्तै पाँच खेलमा दोस्रो हार खेपेको चितवन ६ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुर बोल्ट्सको चार खेलबाट आठ अङ्क छ ।

दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको चार खेलबाट ६ अङ्क छ । मङ्गलबार नै अर्को खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार