spot_img

Saturday, March 22, 2025

नेपाल प्रिमियर लिग: जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हरायो

 मङ्सिर २३, काठमाडौँ । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ  ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान भएको खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई हराउदै  नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ । जितसँगै जनकपुरले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार चौथो हार खेपेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।

  • -advertisement-

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो । जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाउनुभयो ।

उहाँले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिनुभयो । उहाँले पूरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिनुभयो ।

जितका लागि एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले  निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउनुभयो । उहाँले ३८ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका हर्ष थाकरले पाँच विकेट लिनुभयो । उहाँले चार ओभरमा २३ रन खर्चिएर पाँच विकेट लिनुभएको हो ।उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । ललित राजवंशी, शेर मल्ल र किशोर महतोले एक एक विकेट लिनुभयो ।

जितको लय जारी राखेको जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

यस्तै लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार