मंसिर ४ ,गैंडाकोट। गैंडाकोट नगरपालिकाभित्रका जनतालाई भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ।
गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच नगरपालिका परिसरमा मङ्गलबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार गैंडाकोट नगरपालिकाभित्रका जनताले होल बडी चेकअपमा ५० प्रतिशत र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउने भएका हुन् । अस्पताल बाहिरी बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने उक्त सम्झौतामा उल्लेख छ।
सम्झौतामा चितवन मेडिकल कलेज अस्पताल निर्देशक प्रा.डा दयाराम लम्साल र गैंडाकोट नगरका प्रमुख मदन भक्त अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, चितवन मेडिकल कलेज निर्देशक प्रशासनका प्रताप देवकोटा,र अस्पताल फार्मेसीका सरोज प्रसाद ज्ञवाली साक्षीका रूपमा रहेका थिए।
छुट सुविधा लिनका लागि नगरले उपचार कार्ड उपलब्ध गराउने र कार्ड उपलब्ध नहुँदासम्म नगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ। स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने नगरवासीले छुटको दाबी गर्न पाउने छैनन्। सम्झौता पत्रमा नगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै सम्झौता पत्रमा नगर प्रमुखले थप सेवा सुविधा आवश्यक परेको खण्डमा थप उपचारका लागि दश प्रतिशतसम्म छुट सिफारिस गर्न सकिने र चितवनको सि.एम.सि. क्यान्सर इन्स्टिच्यूटमा संचालित सिटीईभिटी को पढाईमा बिचार्थीहरुलाई समेत दश प्रतिशत छुट सिफारिस गर्न सक्ने बताइएको छ ।