मङ्सिर १ ,काठमाडौं । दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला भारतले जितेको छ ।
शुक्रबार राति भएको चौथो खेलमा १३५ रनको विशाल जित निकाल्दै भारतले श्रृंखला ३-१ ले जितेको हो । भारतले दिएको २८४ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ३६ तथा मार्को यान्सेनले नटआउट २९ रन जोडे ।
भारतका लागि अर्शदीप सिंहले ३ ओभरमा २० रन दिएर ३ विकेट लिए भने वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा हार्दिक पान्ड्या, रमनदीप सिंह र रवि विश्नोईले १-१ विकेट लिए । दक्षिण अफ्रिकाले टी-२० मा व्यहोरेको यो सबैभन्दा ठुलो अन्तरको हार हो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ विकेट गुमाएर २८३ रन बनाएको थियो । विशाल योगफल खडा गर्ने क्रममा भारतका लागि तिलक बर्मा र सन्जु सामसनले शतक प्रहार गर्दै नटआउट दोहोरो शतकीय साझेदारी समेत गरे । तिलक १२० र सामसन १०९ रनमा नटआउट रहे । अभिषेक शर्माले १८ बलमा ३६ रन हाने । यसअघि पहिलो खेल जितेको भारतले दोस्रो खेलमा पराजित हुँदा तेस्रो खेल जितेको थियो ।