कात्तिक ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिएर आज स्वदेश फर्कनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री एवं सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसङ्घका महासचिवले आयोजना गर्नुभएको कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।