कार्तिक २३ चितवन । भरतपुर १०, चौबिसकोठीमा छालाको अत्याधुनिक प्रविधिबाट छाला सम्बन्धी रोगको उपचारका लागि दया हेल्थ केयर सेन्टर संचालनमा आएको छ । विगत १० वर्षदेखि अस्पतालरोडमै संचालनमा रहेको हेल्थ केयर सेन्टरले शुक्रबारदेखि आफ्नो सेवा चौबिसकोठीस्थित नयाँ भवनबाट सुरु गरेको हो ।
दया हेल्थ केयरका संचालक छाला रोग विशेषज्ञ डाक्टर शुभकान्त शर्मा गौतमले केश प्रत्यारोपण, फोटोथेरापी, लेजर प्रविधिबाट ट्याटु हटाउने, अनुहारको चाउरी र दाग हटाउने लगायतका उपचार सेवा उपलब्ध गराइएको जानकारी दिए । ‘एउटै छानामुनि छाला रोग सम्बन्धी विशिष्ट सेवा प्रवाह गर्नुका साथै सेवाग्राहीको आत्मविश्वास बढाउनु नै हाम्रो लक्ष्य हो’ उनले भने ।
मानव शरीरमा छालाको महत्वबारे जानकारी दिँदै उनले भने, ‘हाम्रो छाला स्वस्थ छ भने शरीरका भित्री अङ्ग पनि स्वस्थ छन् भनेर बुझ्न सकिन्छ । भित्री अङ्ग अस्वस्थ भए त्यसको सङ्केत छालामा पनि देखिन्छ । यसबाहेक विभिन्न रोगको थालनी छालामार्फत् पनि हुन सक्छ । त्यसैले छालाको सुरक्षामा लापरबाही गर्न हुँदैन ।’
छाला स्वस्थ राख्नमा खानपानको ठुलो भूमिका रहने डाक्टर गौतम बताउँछन् । सकभर अग्र्यानिक खानेकुरामा जोड दिन उनले सुझाव दिए । स्वादको लागि नभई स्वास्थ्यका लागि खानु पर्ने उनको भनाइ छ ।