कात्तिक २२ काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिईएको छ । निराहर व्रत बसेकाले तलाउ, पोखरी र नदी किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन । तराई मधेशदेखि काठमाडौंसहित देशभर ब्रतालुले सूर्यलाई अर्घ्य दिए ।
पूजाआजामा मधेस तथा पहाडीलगायतका विभिन्न समुदायका सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरे। छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ । सत्य र अहिंसाप्रति मानव रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।
पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपतीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस भनी सूर्य देवलाई आराधाना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा छ । उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन भोलि कात्तिक २३ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।