कात्तिक २२,गैँडाकोट । नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने भएको छ ।
कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि जिल्लाको गैँडाकोटस्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । कार्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ ।
‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजित मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्य रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवर्धन गर्न यो महोत्सव आफैँमा महत्वपूर्ण भएको अध्यक्ष भट्टचनले विश्वास व्यक्त गर्नुभयो । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानको बिक्री वितरण रहने छन् ।
मेला अन्तर्गत करिब तीन सयवटा स्टलहरु रहने जनाइएको छ । मेलामा दैनिक राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिने बताइएको छ ।
कात्तिक २६ गते सुरु भएर मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोड ७० लाखको कारोबार हुने तथा ३० लाख बचत हने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम नवलपुरका पर्यटकीय क्षेत्रको प्रवर्धन, उद्यमशीलता विकास र महिला उद्यमी एवं जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने अध्यक्ष भट्टचनले बताउनुभयो ।
महोत्सवमा कृषि उत्पादनको प्रोत्साहनका लागि कृषि क्षेत्र तथा स्थानीय उत्पादनको बजारीकरणका लागि पचास वटासम्म स्टल निःशुल्क उपलब्ध गराउने योजना रहेको अध्यक्ष भट्टचनले बताउनुभयो । गण्डकी प्रदेश स्तरीय महोत्सवले नवलपुरमा गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा घोषणा गरेको लोकाहा औद्योगिक क्षेत्र, शुक्ला गण्डकी नगरपालिका, पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको भनाइ छ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु १०० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मूल संयोजक भट्टचनले बताउनुभयो । महोत्सवको रु १०० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने समेत उहाँको भनाइ छ ।