असोज १५ ,गैंडाकोट । नेपालीहरूको परम्परा कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गैंडाकोटमा प्रथम खुल्ला नौमती बाजा प्रतियोगिता हुने भएको छ ।
महादेवथान नौमती बाजा समूह गैडाकोट ६ को आयोजनामा प्रतियोगिता हुन लागेको हो।
खुल्ला नौमती बाजा प्रतियोगिता यहि असोज १२ गते हुने भनिएकोमा बर्षाको कारणले स्थगित भइ यहि असोज १६ गते बुधबार , बिहान ११ बजे नमुना शिवनगर खानेपानी गैडाकोट ६ को सभाहलमा आयोजना हुने भएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु २५ हजार, द्वितीय पुरस्कार रु १५ हजार ,तृतीय पुरस्कार रु १० हजार र साथमा प्रमाणपत्र प्रदान गरिने महादेवथान नौमती बाजा समूहका अध्यक्ष गिरमान परियारले फास्टखबर अनलाइनलाई जानकारी दिनुभयो ।
यहि असोज १६ गते हुने खुल्ला नौमती बाजा प्रतियोगितामा सहभागी हुन् सम्पूर्ण बाजा समूहलाई आयोजकले आग्रह गरेको छ । साथै सम्पूर्ण महानुभावहरुलाई उपस्थित भई कार्यक्रमलाई सब्य र भव्य रुपमा सफल बनाउन समेत आयोजकले अनुरोध गरेको छ।
प्रतियोगितामा आयोजकले सहभागीले पालना गर्नुपर्ने नियमहरू बनाएको छ । नियमहरू यस प्रकार रहेका छन्।
_ प्रतियोगितामा आफ्नो बाजा समूहलाई चाहिने बाद्यवादन सहभागी समूहले नै ल्याउनुपर्ने छ।
_ प्रतियोगितामा सहभागी हुनका लागि समूहले नै पोशाकको व्यवस्था गर्नुपर्ने छ।
_ प्रतियोगिताको नतिजा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने छ ।
_ सहभागी प्रतियोगीको लागि आफ्नो कला प्रदर्शन गर्ने पालो गोलाप्रथाद्वारा गराइने छ।
_ नृत्य र संगीतको हाउभाउलाई विशेष ग्राहियता दिइनेछ।
_ राजनीतिक विषयवस्तु या कसैलाई व्यक्तिगत घोचपेच गर्न पाइने छैन।
‘यस्ता प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । साथै यसबाट नयाँ पुस्ताले केही सिक्ने अवसर पनि मिल्ने र स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने आयोजकको भनाइ रहेको छ ।
नौ वटा बाजाहरूको सामूहिक बाजा हो नौमती बाजा । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई(दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो ।