असोज १५ ,कावासोती । नवलपुरमा डेंगुको संक्रमण दिनदिनै बढिरहेको छ । हालसम्म जिल्लामा डेंगुबाट एक सय ५८ जना संक्रमित भएका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्यांकअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना छन् ।
त्यस्तै देवचुलि नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यविन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउ पालिकामा १६/१६ जना र बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए । बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म डेंगु संक्रमित फेला परेका छैनन् ।
नारायणघाट–बुटबल सडक खण्डले छोएका पालिकामा बढी डेंगु देखिएको छ । डेंगुको लक्षण देखिने वित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही नीजि मेडिकलहरुमा परीक्षण गराउने गरेको र त्यो तथ्यांंक स्वास्थ्य कार्यालयमा समावेश नुहने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । त्यो तथ्यांकसमेत जोड्दा संक्रमितको संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।
जिल्लामा डेंंगु संक्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह लगायतलाई राखेर अभिमुखिकरण कार्यक्रमहरु सुरु गरिएको र संक्रमण बढ्दै गएका ठाउँहरुमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।