असोज १४,काठमाडौं । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राहत रकम दिने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।
यस्तै सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । तीन दिन राष्ट्रिय झण्डा आधा झुकाईनेछ ।
यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ ।
गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिए । मृतकको संख्या बढ्ने अनुमान छ ।