असोज १४,काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्नुहुने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उहाँ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गर्नुभएको छ । कतारबाट सोमबार उहाँ नेपाल आइपुग्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो ।
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो ।
न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री ओली अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।
उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत पनि रहेका छन् ।