असोज ७ काठमाडौँ । सरकारले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको जनाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बजारमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो चिनी प्रतिकेजी १०७ रुपियाँ ५० पैसा तोकिएको छ । योभन्दा बढी मूल्य लिन पाइने छैन ।
भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरेको थियो । त्यसमध्ये तीन वटा कम्पनीले दुई हजार सात सय मेट्रिक टनका दरले चिनी ल्याएका छन् । चार वटा कम्पनीले ल्याउन नसकेपछि सम्झौता खारेज गरिएको विभागले जनाएको छ ।
नेपाली बजारमा चिनी पर्याप्त भए पनि मूल्यमा मनपरी रहेको भन्दै विभागका महानिर्देशक पौडेलले सरकारी पहलबाट खरिद भएको चिनी नेपाली बजारमा आइपुगेकाले अब बजार भाउमा समस्या नहुने दाबी गर्नुभयो । उहाँका अनुसार २०८० कात्तिक महिनामा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो । बजारमा चिनी आइसकेकाले यस वर्षको दसैँतिहारलाई चिनीको समस्या नहुने महानिर्देशक पौडेलले दाबी गर्नुभयो ।