असोज ७ न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।
ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको र भेट फलदायी भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् ।
ओली चौथोपल्ट प्रधानमन्त्री बनेपछि भारतीय समकक्षी मोदीसँग यो पहिलो भेटवार्ता हो ।भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको बताइएको छ ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा हुनुहुन्छ ।