spot_img

Tuesday, October 15, 2024

शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु

असोज ४ काठमाडौँ । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् ।

सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले भन्नुभयो, “चचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन् ।”

  • -advertisement-
  • -advertisement-

पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्ने तयारीका साथ चुचुरोतर्फ लाग्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।

शरद ऋतुमा मनासलुसहित १० वटा हिमालमा आरोहणका लागि बिहीबारसम्म ३६२ जनाले अनुमति लिएको भन्दै उहाँले मनासलु आरोहणका लागि यस पटक २२६ पुरुष र ८२ जना महिला गरी ३०८ जनाले अनुमति लिएको जानकारी दिनुभयो । गत वर्षको यही सिजनमा मनासलु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा पोहर भदौ ३१ गते पहिलो आरोहण भएको थियो ।

विभागका अनुसार यस वर्ष पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, अपि र मकालु गरी १० वटा हिमाल आरोहण अनुमति दिइएको छ । हिमालमा आरोहण अनुमतिबापत चार करोड ५२ लाख ४५ हजार ८४८ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । किलर माउन्टेनको नामले परिचित मनासलु आरोहण सगरमाथा आरोहणअघिको पूर्वतयारीका रूपमा लिइन्छ ।   गोरखापत्र

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार