राजनीतिक अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ – प्रधानमन्त्री

kala sahitya side 1

असोज ३ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै सो विचार व्यक्त गर्नुभएको हो ।

Article Inline 2
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ ।’’

प्रधानमन्त्री भन्नुभयो, ‘‘संविधानलाई समयानुकूल बनाउनुपर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’’

जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ । नहुँदा आम नागरिक कहिलेकाहीँ निराश पनि हुन्छ । मैले संसदमा विश्वासको मत लिँदै गर्दा भनेको थिए २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौँ भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ ।’’

यसैगरी, प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारका रहेका दलको संसदको गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम् प्रयास गरिने स्पष्ट गर्नुभएको छ । उहाँले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रुपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्यरुपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

“संविधानमा लेखिएका कतिपय अधिकारहरु नागरिकका जीवनमा अनुदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरु कुनै मुद्दा छैन ।’’, संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले भन्नुुभयो, “युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ । युवाहरुलाई म भन्न चाहान्छु, तपाईंहरुसँग केही गरौँ भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरुबाट बचाउनुहोला ।’’

प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने बताउनुभयो । गोरखापत्र 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :