spot_img

Thursday, May 15, 2025

नेपाल जेसीजको क्षेत्र “घ” सम्मेलनको तयारी पुरा / सम्मेलन भदौ २८ र २९ गते गैँडाकोटमा हुने

भदौ २७, गैँडाकोट । नेपाल जेसीजको आयोजना तथा गैँडाकोट जेसीजको आतिथ्यमा गैँडाकोटमा हुन लागेको क्षेत्र “घ” सम्मेलनको तयारी पुरा भएको छ ।

सम्मेलन स्थल नारायणी रिसोर्टमा आज पत्रकार सम्मेलन गर्दै सम्मेलन निर्देशक एवं गैंडाकोट जेसीजका पूर्व अध्यक्ष गोकुल सापकोटाले जेसीजको यो वर्षको क्षेत्र “घ” सम्मेलनको तयारी पुरा भएको बताउनुभयो । यही भदौ २८ र २९ गते हुन लागेको जेसीजको क्षेत्र “घ” सम्मेलनमा क्षेत्र “घ” अन्तर्गत नवलपुरको गैंडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ वटा शाखाका करिब ३५० युवाको सहभागिता रहने बताउनुभयो । उहाँले सम्मेलनमा करिब ६० लाख खर्च हुने अनुमान गरिएको बताउनुभएको छ ।

जेसीजले नेतृत्व र व्यक्तित्वलाई जोड दिदैँ आएको छ ।  जेसीजलाई १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संस्थाको रुपमा लिने गरिन्छ । यसर्थ पनि जेसीजको क्षेत्र सम्मेलनमा सो उमेर समुहका युवाहरुको सहभागिता रहने गर्दछ । क्षेत्र सम्मेलनलाई जेसीज अभियानको महत्वपूर्ण सम्मेलनको रुपमा लिने गरिन्छ । सम्मेलनले नवलपुरको पर्यटन प्रवर्धन, युवा जागरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले गर्नुहुने पत्रकार सम्मेलनमा जनाइएको छ । सम्मेलनमा प्रकरण गोष्ठी, साधारण सभा, सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तृत्वकला प्रतियोगिता, ब्यापार कार्ड साटासाट, साइटसिन, तालिम सकरात्मक कम्पन, पुरस्कार वितरण लगायतका कार्यक्रम हुने प्रचार प्रसार संयोजक एवं गैँडाकोट जेसीजका पूर्व अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट अन्य सहभागी समेत गरी करिब १००० जनाले सहभागिता जनाउने जनाइएको छ । सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरू आउने भएकाले सम्मेलनलाई यस क्षेत्रको कला, संस्कृतिको प्रर्दशनी, स्थानीय उत्पादनको प्रवर्धन एवं पर्यटकीय आकर्षणको माध्यमबाट गैंडाकोटलाई चिनाउने गरी उपयोग गरिने जनाइएको छ । सम्मेलनमा भाग लिन आउने अतिथि एवं सहभागीहरूका लागि गैँडाकोटका होटलहरुमा आवास व्यवस्थापन गरिएको छ ।

सो अवसरमा गैंडाकोट जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेल, पूर्व अध्यक्षहरु दया सापकोटा, रमेश काफ्ले, परमेश आचार्य, नेपाल जेसीजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष सन्दीप अग्रहरी, केन्द्रीय उपाध्यक्ष राजन शर्मा लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार